पहिलोपल्ट भएको नेपाली महिला भलिबलको अक्सनमा ‘ए’ क्याटेगोरीका १३ मध्ये पाँच जना सर्वाधिक मूल्यमा अनुबन्धित भएका छन्।
इन्फिनिटी ड्रिम्सको आयोजनामा सोल्टी होटलमा शुक्रबार सम्पन्न एभरेस्ट महिला भलिबल लिगको अक्सनमा ‘ए’ क्याटेगोरीबाट पाँच खेलाडी सर्वाधिक एक लाख ३२ हजार २ सय ५० रुपैयाँमा बिक्री भएका हुन्।
यो क्याटेगोरीबाट मधेस युनाइटेडले आरती सुवेदी, डिफेन्डिङ च्याम्पियन कर्णाली यसभिसले सफिया पुन, पोखरा निन्जाजले पुनम चन्द, ललितपुर क्विन्सले संगम महतो, काठमाडौं स्पाइकर्सले कविता भट्ट र लुम्बिनी लाभाले कामना विष्टलाई किनेको थियो। तीमध्ये आरतीबाहेक सबै खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका हुन्। आरती भने एक लाख १५ हजार रुपैयाँ बिक्री भइन्।
राष्ट्रिय टोलीमा रहेकी लिबेरो शान्तिकला तामाङ ‘ए’ क्याटेगोरीमा थिइन्। तर, उनीमाथि ‘ए’ का लागि कसैले बोली लगाएनन्। क्याटेगोरी ‘ए’ मा अनसोल्ड खेलाडीहरू स्वतः क्याटेगोरी ‘बी’ मा र क्याटेगोरी ‘बी’ मा अनसोल्ड खेलाडी क्याटेगोरी ‘सी’ मा घटुवा हुने प्रावधान थियो। सोहीअनुरूप शान्तिकलामाथि ‘बी’ लुम्बिनीले बोली लगायो। आगामी भदौ २० देखि २८ गतेसम्म एभरेस्ट महिला भलिबल लिग पोखरामा आयोजना गर्ने गरी तयारी गरिएको छ। यसै संस्करणको शुक्रबारदेखि तयारी भएको हो। अक्सनमा समावेश कुल ६३ खेलाडीबाट सबै ६ फ्रेन्चाइज टोलीले खेलाडी अनुबन्धित गरेका छन्।
नेपाली भलिबलको इतिहासमै गत वर्ष पहिलो पटक महिलाको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिग सफलतापूर्वक आयोजना भएको थियो। त्यति बेला भने अक्सन भएको थिएन। यस वर्ष दोस्रो संस्करणबाट भने अक्सन सुरु गरिएको हो। यस अक्सनमा साबिक विजेता कर्णाली यसभिस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभा गरी कुल ६ फ्रेन्चाइज टोलीले बोली लगाएका थिए। हरेक फ्रेन्चाइज टोलीले अक्सनमा १३ खेलाडी रहेको क्याटेगोरी ‘ए’ बाट एक जना, ४३ खेलाडी रहेको क्याटेगोरी ‘बी’ बाट तीन र १८ खेलाडी रहेको क्याटेगोरी ‘सी’ बाट तीन खेलाडी अनिवार्य लिनुपर्ने प्रावधान थियो।
यहाँबाट हरेक टोलीले कुल सात खेलाडी लिनुपर्ने थियो। सबै टोलीले समान एक मार्की खेलाडी छनोट राखिसकेका छन्। पोखरा निन्जाजले युवा स्पाइकर मीना सुनारलाई अनुबन्धित ग¥यो। पोखराले अक्सनबाट उनलाई एक लाख ५० हजार रुपैयाँ खर्चियो। मीनाले पहिलो संस्करणमा कर्णाली यसभिसलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। सरस्वती कट्टेल र उषा विष्टलाई मधेस युनाइटेड, रस्मिता दुरालाई कर्णाली तथा सुनीता राईलाई ललितपुर क्विन्सले अनुबन्धित गरेको छ। यी सबै एक लाख रुपैयाँमा बिक्री भए।
मधेसको मार्की खेलाडीमा राष्ट्रिय टोलीकी महत्त्वपूर्ण सदस्य निरुता ठगुन्ना छन्। उनको टोलीले अक्सनमा बी क्याटेगोरीबाट क्विक स्पाइकर कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट किन्यो। ‘सी’ क्याटेगोरीबाट बबिता बोहरा, वसन्ती साउद, स्नेहा ठगुन्ना बिक्री भए। डिफेन्डिङ च्याम्पियन कर्णाली यसभिसको मार्कीमा सुमित्रा रेग्मी छन्। उनकै कप्तानीमा कर्णालीले पहिलो संस्करणको उपाधि जितेको थियो। उनको टोलीले अक्सनमा रश्मित दुरा, जस्ना महतो र पूजा थारू ‘बी’ क्याटेगोरीबाट किनेको छ। राष्ट्रिय टोलीका पूर्वसदस्य नेबिका चौधरी, रेबिका लामा तमु, एलिसा भोजु ‘सी’ क्याटेगोरीबाट टोलीमा समावेश भएका छन्। यसपल्ट नाम परिवर्तन गरेको पोखराको मार्कीमा प्रगति नाथ छन्। गत संस्करणमा सरस्वती चौधरी मार्की खेलाडी थिइन्।
यो टोलीले ‘बी’ क्याटेगोरीमा मीनासागै, सुनिता खत्री र गरिमा बोहरालाई किनेको छ। ‘सी’ क्याटेगोरीबाट एन्जिला प्रधान, निशा महर र भावना तामाङ टोलीमा समावेश भएका छन्। ललितपुरको मार्कीमा लिबेरो सलिना श्रेष्ठ छिन्। उनकै कप्तानीमा ललितपुर गत संस्करण फाइनलमा पनि पुगेको थियो। उनको टोलीले ‘बी’ क्याटेगोरीमा लक्ष्मी चन्द, सुनीता राई र सलिना बुढामगरलाई किन्यो। ‘सी’ क्याटेगोरीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी अनुबन्धित भएका छन्। गत संस्करण आशातीत प्रदर्शन गर्न नसकेको काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारी छन्।
अक्सनबाट ए क्याटेगोरीमा कविता भट्ट अनुबन्धित भइन्। यो टोलीले ‘बी’ क्याटेगोरीबाट मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवरलाई किनेको छ। ‘सी’ क्याटेगोरीमा वाल्मीका आचार्य, अनुभवी लिफ्टर कमला पुन र आशिका क्षेत्री अनुबन्ध भए। लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टोलीकी कप्तान तथा लिफ्टर अरुणा शाही छन्। अक्सनबाट ‘ए’ क्याटेगोरीमा कामना विष्ट अनुबन्ध भइन्। ‘बी’ क्याटेगोरीबाट एलिसा मानन्धर, शान्तिकला तामाङ र जेनिसा विक अनुबन्ध भए। ‘सी’ क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी अनुबन्धित भएका छन्।
सरस्वती र प्रतिभाबिना महिला भलिबल
नेपाली महिला भलिबली स्टार खेलाडीद्वय सरस्वती चौधरी र प्रतिभा मालीबिना पहिलोपल्ट महिला भलिबल लिगको अक्सन भएको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा शुक्रबार सोल्टी होटलमा एभरेस्ट महिला भलिबल लिगको अक्सन सम्पन्न भएको हो। जहाँ नेपाली महिला भलिबलमा लामो समयसम्म स्टार खेलाडीका रूपमा रहेका स्पाइकरद्वय सरस्वती र प्रतिभा अनुपस्थित रहे। दुवै खेलाडी हाल नेपाली खेलकुदबाट पलायन भइसकेका छन्। उनीहरू अस्टेलियामा छन्। पहिलोपल्ट नेपाली भलिबलमा अक्सन हुँदा उनीहरू पनि आउन सक्ने अनुमान थियो। भलिबल समर्थकले पनि प्रतिभा र सरस्वती ल्याउनुपर्ने धारणा राख्दै आएका थिए। तर, शुक्रबार कुल ६८ खेलाडीको नाम अक्सनमा समावेश हुँदा झन्डै पछिल्ला एक दशक स्टार खेलाडीका रूपमा रहेका प्रतिभा र सरस्वती थिएनन्।
प्रकाशित: ३ श्रावण २०८२ ०७:२३ शनिबार





-600x400.jpg)