न्युजिल्यान्डमाथि इङ्ल्यान्डको रोमान्चक जित: यसरी सेमिफाइनल पुग्न सक्छ पाकिस्तानटी-२० विश्वकपको सुपर ८ खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना अझै कायम रहेको छ।
शुक्रबार कोलम्बोस्थित आर. प्रेमादासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा इङ्ल्यान्डले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
इङ्ल्यान्डका लागि विल ज्याक्सले १८ बलमा अविजित ३२ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई रेहान अहमदले ७ बलमा १९ रन बनाएर साथ दिए। यी दुईले सातौँ विकेटका लागि १६ बलमा गरेको अविजित ४४ रनको साझेदारी खेलको मुख्य मोड सावित भयो। त्यसअघि साम करन र टम ब्यान्टनले ४२ रन तथा ह्यारी ब्रुक र ज्याकब बेथेलले ४८ रनको साझेदारी गरेका थिए।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३९ र टिम सेफर्टले ३५ रनको योगदान दिए। इङ्ल्यान्डका आदिल रशिद, विल ज्याक्स र रेहान अहमदले समान दुई-दुई विकेट लिए।
अब पाकिस्तानले टी-२० विश्वकपमा ‘गर या मर’ को खेल खेल्नेछ। टोलीले श्रीलंकाको सामना गर्नेछ। शनिबार क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेलले पाकिस्तान सेमिफाइनल यात्रा तय गर्नेछ। खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। अब पाकिस्तानले सेमिफाइनल पुग्न श्रीलंकाविरुद्ध कम्तिमा ६४ रनले जित्नुपर्छ वा १३.१ ओभरभित्र लक्ष्य हासिल गर्नुपर्छ।
हालसम्म श्रीलंका र पाकिस्तानबिच २९ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। पाकिस्तानले १७ वटा जितेको छ भने श्रीलंकाले १२ वटा मात्र जितेको छ। यी दुई टोली अन्तिम पटक २०२६ मा दम्बुला मैदानमा भेटेका थिए, जब श्रीलंकाले १४ रनले जितेको थियो।
प्रकाशित: १६ फाल्गुन २०८२ ०७:२१ शनिबार





