१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद सुरु

डोपिङ नियन्त्रणका लागि खेलकुदमा सन्देश फैलाउने उद्देश्यले नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद सुरु भएको छ।

भारतको नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा इन्डिया) मा नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त बैठक भएको हो। भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा इन्डिया)का महानिर्देशक तथा सिइओ आनन्द कुमार र नाडा नेपालका संस्थापक तथा संयोजक डा. असीम भण्डारीबीच छलफल भएको थियो।

उक्त भेटमा दुवैले अनुभव साटासाट र भविष्यको खाका बनाउनेबारे छलफल गरेका थिए। भारतले डोपिङविरुद्ध आफ्नो प्रारम्भिक संघर्ष, स्रोतको अभाव, सरकारी हस्तक्षेप, खेल महासंघहरूबाट विश्वासको कमी र विश्व डोपिङ नियन्त्रण संस्था (वाडा) को सदस्यता पाउनका लागि बेहोर्नुपरेको कठिनाइबारे उल्लेख गरेको थियो।

‘एजेन्सी बनाउनु सजिलो हुन्छ। तर विश्वासिलो भएर काम गर्न धेरै चुनौतीपूर्ण हुन्छ,’ महानिर्देशक कुमारले आफूसँग उल्लेख गरेको डा. भण्डारीले जानकारी गराए। डा. भण्डारीले कानुनी स्वतन्त्रताको अस्पष्टता, टियुई (थेरापेउटिक युज एजेम्पसन) प्रक्रियामा ढिलाइ, गैरओलम्पिक महासंघहरूमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगमा अनुगमन अभाव र कृत्रिम बुद्धिमत्तामा आधारित डिजिटल निगरानी प्रणालीको खाँचो उल्लेख थिए। ‘एन्टी डोपिङ भनेको खेलाडी समात्ने अभियान होइन। उनीहरूको सपना जोगाउने प्रणाली हो। स्वच्छ खेलकुद परीक्षणको विषय मात्र नभई नैतिकता प्रश्न मान्नुपर्छ,’ डा. भण्डारीले उल्लेख गरेका छन्।

अधिकांश देशले दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदानप्रदान कार्यक्रम र पारा खेलाडी तथा ग्रामीण क्षेत्रका लागि बहुभाषिक डिजिटल शिक्षा अभियानजस्ता साझा योजनाहरू अगाडि सारेका छन्। साथै डा. भण्डारीले देशहरू सीमारेखाले छुट्टिए पनि निष्ठा र न्यायले सजिएको खेलकुदमा कुनै सिमाना नहुने पनि उल्लेख गरेका छन्। त्यसैले खेलकुदलाई स्वच्छ बनाउन सीमापार सहकार्यको आवश्यकता रहेको नाडा नेपालका संयोजक डा. भण्डारीले स्पष्ट पारे। उनले नेपाली खेलकुदमा एकैपल्ट भारोत्तोलनका पाँच खेलाडीमा डोपिङ पोजिटिभ देखिए पनि त्यसबारे अधिकारिक निकायले अहिलेसम्म सार्वजनिक नगरेको प्रसंग पनि उल्लेख गरेका छन्।

वाडाको नियमअनुसार एउटा खेलाडी मात्र पोजिटिभ नहुने र ती खेलाडीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध प्रशिक्षक, स्टाफ, संघ वा संस्थासमेत एन्टी डोपिङ नियम उल्लघंनमा पर्ने डा. भण्डारीले जिकीर गरे। तर, पनि डोपिङमा पोजिटिभको घटना गुपचुप रहेको उनको भनाइ छ। साथै उनले अहिलेसम्म युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग नाडा नेपालबारे स्पष्ट नीति नियम नरहेको उल्लेख गरेका छन्।  

प्रकाशित: ९ श्रावण २०८२ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App