केभिआर समिट च्यालेन्ज तेस्रो संस्करण (पहिलो चरण) मा डेनमार्कका डेनियल मोयलर र नेदरल्यान्ड्सकी एनी माइ बान च्याम्पियन भएका छन्।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार सम्पन्न २१ किलोमिटर दौडमा पुरुषतर्फ डेनमार्ककी डेनियल र महिलामा एनी च्याम्पियन भएका हुन्। डेनियलले दुई घन्टा २१ मिनेट ३२ सेकेन्ड समयमा दौड पूरा गरे। नेपालका दीपकमान तामाङ दोस्रो भए। उनले दुई घन्टा ३१ मिनेट दुई सेकेन्ड समय लगाए। नेपालकै भरत गुरुङ तेस्रो स्थामा रहे। दुई सेकेन्डले मात्र पछि उनी तेस्रो स्थानमा खुम्चिएका हुन्। उनले दुई घन्टा ३१ मिनेट चार सेकेन्ड लगाएका थिए। महिलातर्फ भने शीर्ष तीनमा विदेशी खेलाडी नै रहे। महिलामा च्याम्पियन एनीले दुई घन्टा ४५ मिनेट लगाइन्। अमेरिका÷जर्मनीकी सोन्या मार्टिन दोस्रो भइन्। उनले दुई घन्टा ५८ मिनेट ३० सेकेन्डमा दौड पूरा गरिन्।
आइसल्यान्डकी सोफी स्टाइनकर तेस्रो स्थानमा रहे। उनले तीन घन्टा ९ः१३ सेकेन्ड समय लगाए। सात किलोमिटरको फन रन/हाइकमा पुरुषतर्फ नेपालका डा. आकार शेर्पाली पहिलो भए। उनले एक घन्टा तीन मिनेट समय लगाए। अमृत शाही ठकुरी (एक घन्टा चार मिनेट) दोस्रो र सुजन श्रेष्ठ (एक घन्टा ९ मिनेट) तेस्रो भए। महिलातर्फ नेपालकी निशा महर्जन च्याम्पियन भइन्। उनले एक घन्टा १० मिनेट समय लगाइन्। अमेरिकाकी एरिका मिक्स (एक घन्टा २७ मिनेट) दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर (एक घन्टा २९ मिनेट) ले तेस्रो स्थानमा रहे। उक्त रेस हात्तीवनबाट सुरु भएको थियो।
त्यहाँबाट चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको थियो। उक्त रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नर्वे र जर्मनीका गरी एक सय १० धावक/धाविकाले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: २६ आश्विन २०८२ ०८:०८ आइतबार





