आयोजक काष्ठमण्डपका ‘ए’ र ‘बी’ दुवै टोली आएतबार काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे। प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ।
समूह ‘ए’ बाट ७ अंकका साथ द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकका साथ एआइटिएम उपविजेता हुँदै सेमिफाइनलमा पुगे। आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआइटिएमबीच हुनेछ। प्रतियोगिताको काष्ठमण्डपका प्लस २ प्रोग्राम डाइरेक्टर रिचार्ड गोमेज र ए लेभल प्रोग्राम डाइरेक्टर यादव थपलियाले संयुक्त रूपमा एक कार्यक्रमबीच उद्घाटन गरे।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिनेछ।
भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।
प्रकाशित: ११ फाल्गुन २०८२ १०:११ सोमबार





