१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एसियन कप क्वालिफायर: नेपाली किशोरीको छनोट हुने लक्ष्य

नेपाली महिला किशोर टोली एएफसी यु-१७ महिला एसियन कप क्वालिफायरबाट छनोट हुने लक्ष्यसहित थाइल्यान्ड यात्रा गर्दै छ।

भूमिका बुढाथोकीको कप्तानीमा रहेको नेपाली यु–१७ टोली यसै उमेरसमूहको साफ सकिएलगत्तै एसियन कप छनोटका लागि लामो समयदेखि तयारी गरिरहेको छ।  नेपाली यु–१७ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले तयारी सुखद भएकाले एसियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन्।

आगामी अक्टोबर १३ देखि थाइल्यान्डमा एएफसी यु–१७ महिला एसियन कप छनोट सुरु हुँदै छ। सोही छनोटका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको बिदाइ गरेको थियो। एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई लगायतले नेपाली टोलीको बिदाइ गरेका थिए। सो अवसरमा प्रशिक्षक श्रेष्ठले घरेलु टोलीलाई हराउँदै एसियन कपमा छनोट हुने लक्ष्य रहेको उल्लेख गरेका हुन्।

समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रशिक्षक श्रेष्ठले टोली सन्तुलित बनेको र फरवार्डले पाएका अवसरहरू सदुपयोग गर्न सके जित निकाल्ने आशा व्यक्त गरेका छन्। साफ लगत्तै टोलीले तयारी गरेको उल्लेख गर्दै साफका कमीकजोरी सुधार गर्ने अपेक्षा गरेका छन् । उनले छनोटमा जतिसक्दो उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

प्रशिक्षक श्रेष्ठले डिफेन्स र गोलकिपरमा ध्यान दिएर तयारी गरेको उल्लेख गरे। छनोट हुने दबाब भए पनि दुवै टोलीसँग राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको विश्वास छ। एन्फाका महासचिव किरण राईले भनेजस्तै यो टोलीलाई डेपलभमेन्ट टोलीका रूपमा हेर्नु सुखद लागेको प्रशिक्षक श्रेष्ठ बताउँछन्।

एन्फाले तयारी गरेअनुरूप यो टोलीले नतिजा दिने उनको विश्वास छ। सिंगल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औं संस्करणमा स्थान बनाउनेछ।

गत भदौ १६ गते भुटानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली तेस्रो भएको थियो। च्याम्पियनसिपलगत्तै नेपाली टोली फेरि अर्को तयारीमा जुटेको थियो। नेपालका लागि थाइल्यान्ड र तुर्केमिनिस्तान तुलनात्मक रूपमा बलिया टोली हुन् तर, नेपाली महिला टोली लामो समयदेखि मैदानमा तयारीबाट छनोट हुने आत्मविश्वासमा छ। दुवै टोलीलाई हराउँदै छनोट हुने लक्ष्यमा किशोर टोली छ।

यो टोली दसैंमा पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त थियो। प्रशिक्षक श्रेष्ठले डिफेन्स र मिडफिल्डमा सुधार गरिएको उल्लेख गरेका छन्। साफमा ६ वटा खेलले खेलाडीमा अनुभव पनि पाएको र यसले गर्दा एएफसी कप क्वालिफायरमा राम्रो नतिजा ल्याउने उनको विश्वास छ। अहिले टोलीमा साफ खेलेका तीन खेलाडीबाहेक सबै पुरानै रहेको प्रशिक्षकले उल्लेख गरे। केही खेलाडीलाई नयाँ पोजिसमा पनि तयारी गराइएको र यसका लागि उनीहरूमा आत्मविश्वास पनि बढेको प्रशिक्षक श्रेष्ठको भनाइ छ। आफ्नो टोलीमा धेरे राम्रो सुधार भएको उनको विश्वास छ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली छनोट गरेका थिए। उक्त टोलीले गत असोज १२ गतेदेखि बन्द प्रशिक्षणमा रह्यो। मिडफिल्डर भूमिका बुढाथोकीको कप्तानीमा टोली छनोट गरिएको हो। गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो। कप्तान भूमिकाले टोलीको मनोबल उच्च रहेको र प्रशिक्षकको योजनाअनुरूप खेलाडीले तयारी गरेको बताइन्।

टिमवर्कका साथ सबै खेलाडीले खेलेको र टोलीको लक्ष्य नै छनोट हुने रहेको कप्तान भूमिकाले बताइन्। खेलाडीले एकअर्कालाई प्रोत्साहित गर्दै खेलेको कप्तान भूमिका बताउँछिन्। नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन्।

प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन्। गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिइएको छ। आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानापाललाई प्रतिस्थापन गरिन्। पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको छैटौं संस्करण पनि खेलेका थिए।

गत डिसेम्बरमा भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए तर, भुटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा यी दुवै अन्तिम टोलीमा अटाएनन्। अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले साफ सकिएपछि खेलाडीको मनोबल बुझ्दा उनीहरू आत्तिएको महसुस भएको बताए।

विश्वकप नै जितेको टोलीले ५/६ गोल खाने र अफ्ठ्यारो स्थितिमा पनि स्थिर मानसिकता राख्नु नै खेलाडीको उद्देश्य हुनुपर्ने औंल्याए। फुटबल समर्थकले सदैव राम्रो नतिजा अपेक्षा गर्नु सही भएको उनको भनाइ छ तर खेलाडीले बाहिर पक्ष ध्यान नदिई आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्ने एन्फाका महासचिव राई बताउँछन्।

जित्दा मातिने र हारमा आतिन नहुने उनको भनाइ छ। सयौं खेलाडीबाट छानिएकाहरूले धेरै उच्च मनोबलका साथ खेल्नुपर्ने उनले औंल्याएका छन्। यो च्याम्पियनसिप खेलाडीहरूको विकासकै लागि आयोजना भएको र त्यसैअनुरूप आफ्नो राम्रो प्रदर्शन गर्ने गरी खेल्न उनको आग्रह छ।

मानसिक रूपमा दबाबमा नरही निडरतापूर्वक खेल्न एन्फाका महासचिव राईले बताएका छन्। नेपाली यु–१७ टोलीको तीन गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका छन्। डिफेन्डरमा दीक्षा रायमाझी, अलिजाकुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मीनमाया श्रेष्ठ र अन्सु बिक छन्।

 मिडफिल्डरमा रविना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाल छनोट हुँदा फरवार्ड अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगरले स्थान बनाए।  

प्रकाशित: २५ आश्विन २०८२ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App