नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा पार्टीविरुद्ध भ्रामक सूचना र फेक सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्ता सामग्रीको प्रतिवाद गर्न र सम्बन्धित प्लेटफर्ममा ‘रिपोर्ट’ गर्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरे।
सभापति थापाले निर्वाचन नजिकिँदै गर्दा आफू र कांग्रेसका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा आक्रमण भइरहेको बताएका हुन्।
‘मौन अवधिमा समेत म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्।’ उनले भने।
सभापति थापाले यस्तो कार्य निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भएको बताए। गलत र भ्रामक सूचनाविरुद्ध सचेत सहभागिता आवश्यक रहेको उनको भनाइ छ।
थापाले फेसबुक, टिकटक, युट्युबजस्ता प्लेटफर्ममा देखिने भ्रामक सामग्रीलाई तुरुन्त रिपोर्ट गर्न सुझाएका छन्। उनले कुनै पनि सामग्री सेयर गर्नुअघि सत्यता जाँच्न आग्रह गर्दै भने, ‘अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन सक्छ। सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ।’
प्रकाशित: १९ फाल्गुन २०८२ १९:४५ मंगलबार



-600x400.jpg)

