नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा उनले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेनासहितका सुरक्षा फौज परिचालित भई कार्य क्षेत्रमा खटिइसकेको बताए ।
यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशभरका सबै मतदान स्थलमा निर्वाचन अधिकृत, निर्वाचन सामग्रीसहित नेपाल प्रहरीको टोली पुगिसकेको बताए ।
मौनअवधिमा निर्वाचन विरोधी गतिविधि गर्ने, सामाजिक सञ्जालको दुरूपयोगलगायतका गतिविधि रोक्न सम्पूर्ण प्रहरीलाई विशेष निर्देशन दिइएको जानकारी दिँदै उनले त्यस्ता गतिविधिमा लाग्ने व्यक्तिको पहिचान, नियमन र नियन्त्रण गरी संलग्नलाई कारबाही गर्न खटाइसकेको बताए ।
प्रवक्ता काफ्लेले निर्धक्क भएर अमूल्य मत दिन आग्रह गरे । उनका अनुसार देशभर २०० को सङ्ख्यामा रहेका साइबर प्रहरीले सामाजिक सञ्जालको निगरानी गरी त्यसखालको दुरूपयोग हटाउन सक्रिय रहेका छन् । त्यसक्रममा ३४ जना पक्राउ परेका छन् ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न पनि धमाधम पक्राउ परिरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट चारवटै सुरक्षा निकाय निकाय समन्वयात्मकरूपमा परिचालित भई सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । ‘धेरै स्थानमा गस्ती तथा ‘चेकप्वाइन्ट’मार्फत निर्वाचन विरोधी गतिविधि रोक्न परिचालित भएका छौँ’, उनले भने ।
सूचनाको विश्लेषण गरी एकीकृत सुरक्षा योजनाअनुसार थप सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै प्रवक्ता भट्टले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरे ।
एक सय ६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा वेस स्थापना भएका छन् । फागुन ७ गतेदेखि सबै क्षेत्रमा नियमित गस्ती टोली खटिइएका छन् । यसअघिको निर्वाचनको संवेदनशीलता हेरेर सुरक्षा विश्लेषण गरी मजबुत तुल्याइएको प्रवक्ता भट्टले जानकारी दिए ।
यस्तै सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी गरिएको र गए रातिदेखि अन्तरराष्ट्रिय सीमानाका बन्द भएको उनले जानकारी दिए ।
धमाधम मतदान केन्द्र व्यवस्थापन गरिँदै
यसैबीच, मतदान कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आज मतादन केन्द्र व्यवस्थापनमा जुटेको छ । निर्वाचनका लागि प्राप्त निर्वाचन सामग्री र स्थानीय स्रोतसाधन सङ्कलन गरी मतदान केन्द्र र मतदान स्थल निर्माण गरिएको छ ।
कतिपय स्थानमा आज सर्वदलीय बैठकसमेत सम्पन्न भएका छन् । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले मतदान केन्द्र निर्माण, सर्वदलीय बैठकलगायतका व्यवस्थापकीय काम धमाधम भइरहेको जानकारी दिए । उनले भने, ‘सम्पूर्ण मतदान अधिकृतले मतदान सामग्री सम्पूर्णरूपमा बुझिसकेका छन् । भोलि सबै मतदान केन्द्र तयार हुन्छन् । फागुन २१ गते बिहान ७:०० देखि साँझ ५:०० बजेसम्म मतदान हुनेछ ।’
प्रकाशित: १९ फाल्गुन २०८२ २०:०५ मंगलबार



-600x400.jpg)

