एन्जल्स हार्ट र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) ले शुक्रबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। एन्जल्स हार्ट ब्वाइज तथा केभिकेएसएस गर्ल्समा च्याम्पियन बने।
तारकेश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीमा भएको ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ह्वाइट हेभेन एकेडेमीलाई ३७–३३ ले पराजित गर्यो। एन्जल्स हार्टका रूपेश पौडेलले २४ अंक जोडे। हिमालय बोर्डिङ स्कुलले संस्कृति शिक्षा सदनलाई ४८–२७ ले हराउँदै तेस्रो भयो। हिमालयका अरुण कार्कीले २३ स्कोर गरे।
गर्ल्सको उपाधि भिडन्तमा केभिकेएसएसले आयोजक तेजस्वीलाई २५–१४ ले पाखा लगायो। केभिकेएसएसकी मुस्कान मिफोकले ८ अंक जोडिन्। तेस्रो स्थानका लागि भएको खेलमा बेलमोन्ट इन्टरनेसनल स्कुलले मानसिंहलाई १५–१२ ले पन्छायो। बेलमोन्टकी क्रिस्टिना घिमिरेले ९ अंक बटुलिन्।
ब्वाइजमा एन्जल्स हार्टका रूपेश पौडेल तथा गल्र्समा केभिकेएसएसकी रोजी श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा ह्वाइट हेभेनका राहुल सुनार तथा गल्र्समा बेलमोन्टकी क्रिस्टिना घिमिरे उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए।
ब्वाइजमा हिमालयका अरुण कार्की तथा गल्र्समा तेजस्वीकी एस्थर बरुवाल सर्वाधिक स्कोरकर्ता बने। ब्वाइजमा सिद्धार्थ मोडेल स्कुल तथा गल्र्समा एन्जल्स हार्ट नेसनल स्कुलले अनुशासित टिमको ट्रफी हात पारे।
विजेतालाई सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपाने, तेजस्वीका संस्थापक प्रिन्सिपल थिरबहादुर बस्नेत, तेजस्वीका संस्थापक प्रबन्ध निर्देशक राजकुमार केसी र तेजस्वीका भाइस प्रिन्सिपल विश्व पाण्डेले एक कार्यक्रमबीच पुरस्कृत गरे। छदिने प्रतियोगिताको ब्वाइज/गर्ल्समा समान १२/१२ गरी २४ टोली सहभागी थिए।
प्रकाशित: १६ फाल्गुन २०८२ ०८:५६ शनिबार





