१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा म्याराथनका विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार

गण्डकी प्रदेशका विजेता धावकलाई नगद पुरस्कारको व्यवस्था

चार महिनापछि पोखरा म्याराथन हुदैंछ। आन्तरिक तयारी पनि शुरु गरिएको छ। तयारीसँगै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशी समेत बृद्धि गरेको छ। मञ्चले पोखरा म्याराथन विजेतालाई नगद ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

गतवर्षभन्दा एकलाख रुपैयाँ बढी पुरस्कार राशीमा बढाइएको मञ्चले जनाएको छ। गत वर्ष ४ लाख रहेको पुरस्कार राशी थियो। नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा आगामी फाुगन ६ गते शनिबार आयोजना हुने ४२.१९५ किमि म्याराथनका उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थानमा आउने धावकले २ लाख रुपैयाँ, चौथो हुने धावकले भने ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्ने छन्।

गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेश्रो हुनेले क्रमशः नगद ५०, ३० र २० हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए। महिला हाफ म्याराथनतर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ। हाफ म्याराथन विजेताले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ पाउने भुतपूर्व खेलाडी मञ्च पोखराले जनाएको छ। पोखरा म्याराथन अन्तर्गत १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमशः प्रथम हुनेले नगद ३०, द्वितीय हुनेले नगद २० र तृतीयले १५ हजार प्राप्त गर्नेछन्। विद्यालयस्तरिय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ। ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ।

कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरु एकै पटक एकै समय फागुन ६ गते शनिवार नै हुने अध्यक्ष पराजुलीले बताए। पुरस्कार राशीमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकर्षण बढाउने तर्फ मञ्चको ध्यान केन्द्रित गरिएको छ।

उनले भने, ‘वर्ष १६ औं संस्करणको कुल पुरस्कार राशी नगद १२ लाख २६ हजार थियो। तर अव पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पु¥याएका छौं।’ यो संगै म्याराथन पुरा गर्ने धावकका शीर्ष १ सय जना, हाफ म्याराथनतर्फ ५० जना, १० किमि पुरुषतर्फ २ सय जना महिला १० किमितर्फ १ सयजना र छात्र–छात्रासमेत गरी करिव एक हजार मेडलका साथमा प्रमाण पत्र समेत वितरण गरिनेछ।

‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी शुरु गरेको छ। पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ। म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यीय विभिन्न समिति समेत गठन गरिएको छ।

पोखराको प्रतिष्ठित उद्योग मध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन्। त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आएका छन्।

प्रकाशित: १ मंसिर २०७९ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App