४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

तनावपूर्ण बन्यो मैत्रीपूर्ण खेल

नेपालले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण खेलका लागि मौरिससलाई आतिथ्य प्रदान गर्‍यो। तर दोस्रो हाफमा दुवै टोलीका खेलाडीले धैर्यता गुमाउँदा मैत्रीपूर्ण खेल तनावपूर्ण बन्यो।  

सुजल श्रेष्ठले पहिलो हाफमा गरेको गोलमा नतिजा त नेपालको पक्षमा निस्कियो, तर खेलमा निम्तिएको तनावपूर्ण अवस्थाले सो जित छायामा पर्‍यो।

खेलाडीहरूले पटकपटक संयमता गुमाउँदा रेफ्री नवीन्द्र महर्जनलाई खेल नियन्त्रणमा लिन हम्मे भएको थियो। खेलको सबैभन्दा तवानपूर्ण अवस्था ८०औं मिनेटमा देखियो, जसले खेल करिब सात मिनेट जति रोकिएको थियो।

मौरिससका मिडफिल्डर एड्रियन बोल्टारले नेपालका स्ट्राइकर अञ्जन विष्टमाथि खराब फाउल गरेपछि महर्जनले उनलाई सोझै रातो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी विवादमा उत्रिए।

सोही विवादबीच नेपालका मिडफिल्डर पूजन उपरकोटीले मौरिससका खेलाडीमाथि बलले प्रहार गरेपछि महर्जनले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाए। त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भए। पूजनले ६४औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए।

विवाद यतिमै रोकिएन। नेपालका गोलकिपिङ प्रशिक्षक विकास मल्ल रिसमाथि नियन्त्रण गुमाउँदै मैदानमै प्रवेश गरेपछि महर्जनले उनलाई पनि रातो कार्डको दर्शन गराएका थिए।

त्यसको चार मिनेटपछि रक्षक इम्यानुयल फोलचन्ड पनि दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि मौरिससले नौ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। यसअघि ६२औं मिनेटमा पनि इम्यानुअलले पहेँलो कार्डको दर्शन गरेका थिए।

खेलदौरान नेपालका थप दुई खेलाडीले पहेँलो कार्डको दर्शन गर्दा मौरिससका पनि पाँच खेलाडीले पहेँलो कार्डको दर्शन गरेका थिए।

यसअघि १०औं मिनेटमा सुजल श्रेष्ठको गोलमा नेपालले १–० को अग्रता लिएको थियो। त्यसको एक मिनेट नबित्दै मौरिससले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन।

नेपालका दिशेन राजवंशीले लिन्सले ब्रासमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीमा मौरिससका कप्तान एन्डी सोफी गोल गर्न असफल रहे। उनको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले बचाएका थिए। पहिलो खेलमा पनि नेपाल १–० ले विजयी भएको थियो। 

नेपालका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली टोलीले शारीरिक रूपमा आफूभन्दा बलियो मौरिससविरुद्ध गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए।

‘फुटबल हो, दुवै टोलीका खेलाडीले खेलदौरान एग्रेसन देखाउनु सामान्य हो,’ अल्मुताइरीले भने, ‘दुवै टोलीका खेलाडीेले धैर्यता गुमाउँदा खेल केही क्षण तनावपूर्ण बन्यो। यसमा भने मलाई दुख लागेको छ। तर खेलपछि दुवै टोलीका खेलाडी र प्रशिक्षण टोलीमा मैदानमा भएको तनावपूर्ण अवस्थाको झलक देखिएन।’

त्यस्तै मौरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले भने पहिलो खेलको तुलनामा आफ्नो टोलीले नेपालविरुद्ध दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेको बताए।

‘हाम्रो टोलीमा पहिलो खेलमा केही प्रमुख खेलाडी नहुँदा केही कठिन भयो, तर दोस्रो खेलमा उनीहरू फर्किएपछि हामीले केही सुधारिएको प्रदर्शन गर्‍याैँ,’ टोनीले भने, ‘यसले टोलीको मनोबल बढेको छ। यद्यपि खेलमा हामीले पनि गोलका केही अवसर पाएका थियौं, त्यसलाई सदुपयोग गर्न भने हामी आज पनि असफल भयौं।’

खेलदौरान भएको तनावपूर्ण स्थितिका बारेमा सोधिएको प्रश्नमा टोनीले नेपालका खेलाडीले आफ्ना खेलाडीलाई उक्साहटमा ल्याउँदा दुई खेलाडीले रातो कार्डको दर्शन गरेको बताए। 

प्रकाशित: १९ माघ २०७८ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App