१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग:उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने भएका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको तालिका सार्वजनिक कार्यक्रमबाट फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच उद्घाटन खेल हुने टुङ्गो लागेको हो। उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक २९ गते साँझ ५ बजे हुनेछ।

लिगको दोस्रो खेल हिमालय शेर्पा क्लब र संकटा क्लबबीच एन्फा कम्प्लेक्समा हुँदा तेस्रो खेल च्यासल युथ क्लब र थ्री स्टारबीच दशरथ रंगशालामा हुनेछ। यस्तै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई आतिथ्यता गर्ने भएको छ। सार्वजनिक तालिकाअनुसार लिगमा पहिलो चरणका खेल दशरथ रंगशाला र एन्फाका दुवै मैदानमा हुने आयोजक एन्फाले टाईसिट ड्र सार्वजनिक कार्यक्रममा जानकारी दियो।

दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्समा हुँदा ३ बजेका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलस्थित टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रंगशालामा हुन सक्ने एन्फाले लिग निर्देशक सञ्जीव मिश्रले बताए। ‘सुरुआती दुई चरणका खेलको स्थल तोकिएको छ।

तोकिएअनुसार नै खेल सञ्चालन हुन्छन्,’ ‘ए’ डिभिजन लिग निर्देशक सञ्जीब मिश्रले भने, ‘दोस्रो चरणका खेलमा भेन्युमा केही थप हुन सक्छ। च्यासलले टेक्निकल सेन्टर र मनाङले पोखरा रंगशालालाई घरेलु मैदानका रूपमा अगाडि सारेका छन्। सोहीअनुसार तालिका बनाउनुपर्ने हुन्छ। तसर्थ भेन्यु तोकेका होइनौं।’

लिग दर्शकसहित आयोजना हुने एन्फाले जनाएको छ। एन्फाले थपघट हुने खेलस्थललाई मध्यनजर गर्दै हाललाई सुरुआती २ चरणको मात्र तालिका सार्वजनिक गरेको हो।

लिगका प्रत्येक खेलमा विजयी हुने टोलीले ५० हजार रूपैयाँ नगद पाउनेछ भने बराबरी भएको अवस्थामा दुवै टोलीले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली घटुवा हुनेछन्।

लिगमा सहभागी कोरोनाविरुद्धको भ्याक्सिन नलगाएका खेलाडीलाई एन्फाले समन्वय गर्ने समेत जनाएको छ। लिगमा कुल १३ चरणमा ९१ खेल हुनेछन्। विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रोले २५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन्। यस्तै उदीयमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन्।

प्रकाशित: १३ कार्तिक २०७८ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App