coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेल्नुपरेको बताएका छन्।

‘बिहीबार पहिलो खेलमा कप्तान रेनुका नगरकोटी र मञ्जलीकुमारी योञ्जनलाई डिफेन्सिभ मिडफिल्डरका रूपमा खेलाएका थियौं। त्यो रणनीति सफल देखिएको थियो,’ फिलिप्सले भने, ‘तर अहिले हामीले दोस्रो खेलमा रणनीति परिवर्तन गर्दै रेनुकालाई मात्र डिफेन्सिभ मिडफिल्डरका रूपमा खेलायौं। तर त्यो त्यति फलदायी रहेन।’ फिलिप्सले आफूहरूले उज्बेकिस्तानमा असोज पहिलो साताबाट हुने एएफसी महिला एसियन कप छनोट चरणको तयारीका लागि छोटो समय पाए पनि बंगलदेशविरुद्धको अभ्यास खेल फलदायी भएको बताए।

‘हामी ६ साता मात्र बन्द प्रशिक्षणमा रह्यौं,’ फिलिप्सले भने, ‘कुनै पनि प्रतियोगिताका लागि टोली तयार छ वा छैन भन्ने थाहा पाउन अभ्यास मात्र भएर हुँदैन धेरैभन्दा धेरै अभ्यास खेलको आवश्यक पर्छ। बंगलादेशविरुद्धको खेलबाट हामीले टोलीको कमीकमजोरी केलाउने अवसर पाएका छौं।’ उनले आफूहरूको लक्ष्य एएफसी महिला एसियन कप छनोटमा समूहको शीर्ष स्थानमा बस्दै अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनु रहेको र छनोट हुनेमा विश्वस्त रहेको बताए।

‘टोलीका केही अनुभवी खेलाडीको अनुपस्थितिमा हाम्रो समूह ‘एफ’ को शीर्ष स्थानमा बस्दै अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने अभियानमा केही कठिनाइ हुन सक्छ,’ फिलिप्सले भने, ‘तर टोलीमा आएका नयाँ खेलाडीहरू क्षमतावान छन्। अनुभवी तथा युवा खेलाडीको सन्तुलनमा सुखद नतिजा ल्याउनेमा हामी विश्वस्त छौैं ।’

बिहीबार पहिलो खेलमा बंगलादेशमाथि २–१ को जित हात पारेको नेपालले आइतबार भने सोचेअनुरूपको प्रदर्शन गर्न सकेन। प्रशिक्षक फिलिप्सले बिहीबार उतारेको टोलीमा तीन खेलाडी परिवर्तन गरेका थिए। पहिलो खेलमा अवसर पाएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित सविता राना र दीपा राई बेन्चमा रहँदा अन्जना राना मगर, रेश्मीकुमारी घिसिङ र अनिता बस्नेतले पहिलो रोजाइमा स्थान बनाएका थिए।

छैटौं मिनेटमा रक्षक गीता रानाले बल क्लियर गर्दै नेपालको संकट टारेकी थिइन्। नेपालकी गोलकिपर अन्जना बिट सकेको अवस्थामा गीताले बंगलादेशकी स्ट्राइकर श्रीमोती सरकारको प्रहार विफल पारेकी थिइन्।आठौं मिनेटमा नेपालले पनि गोलको अवसर पाएको थियो तर रक्षक अमृता जैसीको प्रहार बंगलादशकी गोलकिपर रुप्ना चक्माले बचाएकी थिइन्। त्यसको एक मिनेट नबित्दै अनिता बस्नेतको पासमा सरु लिम्बुले गरेको प्रहार पनि चक्माले विफल पारेकी थिइन्।

नेपालकी कप्तान रेनुकाले टोलीमा तालमेल अभाव देखिए पनि छनोट चरणको खेलसम्म त्यसमा सुधार आउने आशा व्यक्त गरिन्। ‘हाम्रो टोलीमा अहिले केही महत्त्वपूर्ण खेलाडी छैनन्। उनीहरूका स्थानमा आएका नयाँ खेलाडी क्षमतावान् छन् तर छोटो तयारीका कारण तालमेल मिल्न सकिरहेको छेैन,’ रेनुकाले भनिन्, ‘आज बंगलादेशविरुद्ध तालमेल अभावकै कारण हामीले न त पर्याप्त गोलको अवसर सिर्जना गर्न सक्यांै न त पाएका अवसर नै सदुपयोग गर्न। टोलीले एएफसी महिला एसियन कपमा सुधारिएको प्रदर्शन गर्नेमा म विश्वस्त छु।’

यता बंगलादेशका प्रशिक्षक गुलाम रोबानी चोटोनले टोलीको प्रदर्शनले मनोबल बढेको प्रतिक्रिया दिए। ‘नेपाल दक्षिण एसियाकै बलियो टोली हो र उनीहरूविरुद्ध आज मेरा युवा खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनबाट म सन्तुष्ट छु,’ चोटोनले भने, ‘नेपालविरुद्धको प्रदर्शनबाट टोलीको मनोबलसमेत बढेको छ। आशा छ, टोलीले छनोट चरणमा उत्कृष्ट नतिजा ल्याउनेछ।’

प्रकाशित: २८ भाद्र २०७८ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App