coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सावित्रा नहुँदा नयाँलाई अवसर

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले स्ट्राइकर सावित्रा भण्डारी नहुँदा टोलीको प्रदर्शनमा केही असर पर्ने भए पनि नयाँ खेलाडीका लागि भने आफ्नो क्षमता प्रमाणित गर्ने उत्कृष्ट अवसर भएको बताएका छन्।

उज्बेकिस्तानमा असोज पहिलो साताबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै छ। जसअन्तर्गत पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगदौरान घुँडामा लागेको चोटपछि सावित्रा मैदानबाहिर रहँदै आएकी छिन्। हाल उनी कतारमा घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छिन्। एएफसी महिला एसियन कप छनोटका लागि घोषित टोलीमा ७ नयाँ खेलाडीले अवसर पाएका छन्। प्रतियोगिताका लागि नेपाली टोली विगत ६ सातादेखि बन्द प्रशिक्षणमा छ।

‘सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन्। नेपाली समर्थक पनि टोलीमा सावित्रा भएकै हेर्न चाहन्छन्,’ फिलिप्सले भने, ‘हाल उनी चोटका कारण टोलीमा छैनन्। उनको स्थानमा अरू खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्दै नेपाली समर्थकको मन जित्ने सुनौलो अवसर छ।’ फिलिप्सले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेल आफ्नो टोलीको कमीकमजोरी सुधार गर्ने अवसर भएको पनि बताए। ‘कोभिड १९ महामारीका कारण धेरै मैत्रीपूर्ण खेल खेल्ने सम्भावना रहेन। त्यसैले बंगलादेशविरुद्धको खेल हाम्रा लागि टोलीको गल्ती सुधार गर्ने अवसर हुनेछ,’ प्रशिक्षक फिलिप्सले भने।

एएफसी महिला एसियन कप छनोटमा नेपालले समूह ‘बी’ अन्तर्गत सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ म हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोली आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ का लागि छनोट हुनेछ।

यता बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले पनि नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्राको अनुपस्थितिको आफ्नो टोलीले फाइदा उठाउने बताए। ‘सावित्रा नहुँदा हाम्रा रक्षकले दबाबरहित खेल्ने अवसर पाउनेछन्,’ चोटोनले, भने ‘उनी दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर हुन्। भोलिको खेलमा उनी नहुनु दुखद हो तर यो हाम्रा टोलीका लागि बिनादबाब खेल्ने अवसरसमेत हो।’  

चोटोनले छनाोट प्रतियोगिताअघि नेपालविरुद्धको खेल फलदायी हुने समेत बताए। ‘हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्य छ,’ उनले भने, ‘लामो समयको अन्तरालपछि मैदान उत्रन पाउँदा खेलाडी खुसी छन्। हामी एएएफसी महिला एसियन कप छनोटको तयारी गरिरहेका छाैँ। नेपालविरुद्धको खेल हाम्रा लागि उच्च मनोबलका साथ छनोट प्रतियोगितामा सहभागी हुन सहयोगी बन्नेछ।’

प्रकाशित: २४ भाद्र २०७८ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App