१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गौरिकाले नेपालको झन्डा बोक्ने

यसै जुलाईदेखि सुरु हुने ग्रीष्मकालीन टोकियो ओलम्पिकमा नेपालको तर्फबाट पौडीकी गौरिका सिंहले नेपालको झन्डा बोक्ने भएकी छन्।  

गत १३औं दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा चार स्वर्ण पदक जितेकी गौरिकाले ३२औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झन्डा बोक्ने भएकी हुन्। आगामी जुलाई २३ देखि अगस्ट ८ सम्म टोकियो ओलम्पिक आयोजना हुँदै छ, जहाँ नेपालका चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘नेपाल ओलम्पिक यात्रा’ नाम दिएर मंगलबार आयोजना गरेको कार्यक्रममा पाँच खेलाडीको नेपाली टोलीमा गौरिकाले नेपालको झन्डा बोक्ने जनाएको हो।  

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिकमा पौडीका गौरिकासहित एलेक्जेन्डर शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले नेपालको तर्पmबाट प्रतिस्पर्धा गर्दैै छन्। गौरिका र एलेक्जेन्डरले सय मिटर फ्रिस्टाइलमा खेल्नेछन्। 

उनीहरूलाई शंकर कार्कीले प्रशिक्षण दिनेछन्। असीम यादवको प्रशिक्षणमा रहेकी सुटिङकी कल्पनाले भने १० मिटर एयर राइफलमा चुनौती प्रस्तुत गर्दै छिन्। पछिल्लो समय युथ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी जुडोकी सोनिया भट्टले ४८ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्। उनलाई सूर्यनारायण श्रेष्ठले प्रशिक्षित गर्नेछन्।  

आयोजना मितिभन्दा तीन हप्ताअगाडि मात्र टोकियो ओलम्पिक खेल्ने अवसर पाएकी सरस्वतीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्। एथलेटिक्सको प्रशिक्षकमा इन्द्राकुमारी मल्ल छिन्। पौडीका गौरिका, एलेक्जेन्डर र एथ्लेटिक्स सरस्वतीले युनिभर्सियालाटी प्लेसअन्तर्गत प्रतिस्पर्धा गर्न लागेका हुन्। सोनिया र कल्पनाले भने वाइल्ड पाएका थिए। सन् १९६४ मा सम्पन्न टोकियो ओलम्पिकबाट नै विश्व खेलकुद महाकुम्भ मेलाको यात्रा थालेको नेपालका लागि यो १४ पटकको ओलम्पिक यात्रा हो।  

महामारीका कारण कडा स्वास्थ्य सुरक्षाका बीच हुन लागेको ओलम्पिकमा पाँच खेलाडी, चार प्रशिक्षक र एक चिकित्सकले सहभागिता जनाउँदा १६ जनाको जम्बो पदाधिकारी समूह रहनेछ। उक्त टोलीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल सेभ द मिसन रहनेछन्। 

राखेपकै उपाध्यक्ष शिव कोइराला र युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने पनि रहनेछन्। अध्यक्ष जीवनराम श्रेष्ठसहित एनओसीबाट मात्र ९ सदस्यीय जम्बो नेपाली टोली ओलम्पिकमा समावेश हुँदै छ। यद्यपि, मंगलबार भएको कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिक यसअघि हुँदै आएको जात्रा जस्तो नभएर यात्रा भएको प्रतिक्रिया दिए।

‘पहिला ओलम्पिक जाँदा खेलकुद क्षेत्रको प्रशासकीय निकायबीच समन्वयन हुन नसकेकाले जात्रा नै हुन्थ्यो। तर, यसपटक भने मन्त्रालय, राखेप र ओलम्पिकको समन्वयमा तयारी भएकाले नेपालको ओलम्पिक जात्रा नभएर यात्राजस्तो भएको छ,’एनओसीका अध्यक्ष श्रेष्ठले भने, ‘खेलाडीको प्रशिक्षण राखेपबाट भएको छ।’ मंगलबार एनओसीले आयोजना गरेको ओलम्पिक यात्रामा जुडो, एथलेटिक्स, सुटिङका खेलाडी र प्रशिक्षक समावेश थिए। पौडीका गौरिका, एलेक्जेन्डर र प्रशिक्षक कार्की यसअघि नै जापान पुगिसकेका छन्। एनओसीले ओलम्पिक छात्रवृत्तिबाट दुई करोड रूपैयाँ बराबरको बजेट खर्च भएको जनाएको छ।

आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा राखेकाले सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले सात दिन लगातार पिसिआर परीक्षण गर्नुपर्ने, टोकियोमा तीन दिन ‘क्वारेन्टिन’ मा बस्नुपर्ने र दुई डोज खोप लगाउनुपर्ने प्रावधान राखेको छ। 

नेपालका सबै टोलीले दुई डोज खोप लगाइसकेको समेत एनओसीले जनाएको छ। मंलबार आयोजना भएको कार्यक्रमका अवसरमा ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूलाई केल्मी नेपालले खेल पोसाक प्रायोजन गरेको छ। यसका लागि एनओसी र केल्मीको कामरु ट्रेडिङबीच प्रायोजनको अनुबन्ध भइसकेको छ।

प्रकाशित: ३० असार २०७८ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App