नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले जारी केन्द्रीय समितिको बैठकका आफूसँग दुई अनुभूति भएको उल्लेख गरेका छन्।
आइतबार (आज) सुरु भएको केन्द्रीय समिति बैठकमा रूपान्तरणको सानो उदाहरण देखिएको न्यौपानेले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्।
उनले लेखेका छन्, 'आजका दुई अनुभूति, केन्द्रीय समितिको बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो। ब्यानर, मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्षको तस्बिर देखिएन।'
उनले तस्बिर नराख्ने निर्णय जहाँबाट भए पनि त्यो सकारात्मक रहेको बताएका छन्। 'तस्बिर नराख्ने आँट केन्द्रीय कार्यालयको व्यवस्थापन टिमको आफ्नै विवेक र आँट पक्कै होइन, जहाँबाट आए पनि यो रूपान्तरणको सानो उदाहरण हुन्सक्छ,' उनले भनेका छन्।
न्यौपाने माओवादीभित्रका बौद्धिक र वैचारिक नेता मानिन्छन्। नेतृत्वको आलोचना गर्न नबार्ने न्यौपानेले आजको बैठकले भने आशा जगाएको बताएका हुन्।
प्रकाशित: २१ पुस २०८१ २१:१४ आइतबार