१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

माउरिन्हो बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। 

टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअगाडि माउरिन्होलाई बर्खास्त गरेको हो। उनी अघिल्लो सिजनको अन्तिमतिर क्लबमा अनुबन्धित भएका थिए। माउरिन्होको प्रशिक्षणमा गत सिजन छैटौं स्थानमा बस्दै टोटेनह्यामले सिजनको अन्त्य गरेको थियो। जारी सिजन टोटेनह्याम प्रिमियर लिगको सातौं स्थानमा छ। माउरिसियो पोचेटिनो बर्खास्तीमा परेसँगै ५८ वर्र्षे माउरिन्होेले टोटेनह्याम प्रशिक्षण सम्हालेका थिए।  

जारी सिजन लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको टोटेनह्यामको शीर्ष चारमा बस्दै अर्कोे सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना चुनौतीपूर्ण बन्दै गएको छ। ‘क्लबलाई जोजे माउरिन्हो र उनलाई साथ दिएका अफिसियललाई पनि बर्खास्त गर्ने निर्णय भएको छ,’ टोटेनह्यामले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। टोटेनह्यामले नयाँ प्रतियोगिता युरोपियन सुपर लिगमा सहभागिता जनाउने भएपछि क्लबले प्रशिक्षकलाई हटाउने निर्णय गरेको हो। जारी सिजनको प्रिमियर लिगअन्तर्गत पछिल्ला तीन खेलमा टोटेनह्यामले दुई अंक मात्र जोडेको छ।

पछिल्ला खेलमा टोटेनह्याम एभर्टनसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। क्लबले सोमबार माउरिन्होलाई बर्खास्त गरेसँगै उनका सहायक प्रशिक्षकहरू जोआओ साक्रेमान्तो, नुनो सान्तोस, कार्लोस लालिन र जियोभानी चेर्रालाई समेत जिम्मेवारीबाट हटाएको छ। टोटेनह्यामका अध्यक्ष ड्यानियल लिभेले प्रशिक्षक हटाउनु अहिलेको अवस्थामा निकै चुनौतीपूर्ण र जोखिमपूर्ण काम भएको बताए। ‘महामारीको समयमा पनि माउरिन्होले जोखिम मोलेकै हुन्। उनी शुद्ध व्यावसायिक प्रशिक्षक हुन्,’ क्लबका अध्यक्ष ड्यानियल लिभेले भने। चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक माउरिन्होले क्लबसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेका थिए।

प्रकाशित: ७ वैशाख २०७८ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App