८ वैशाख २०८१ शनिबार
खेल

सनिलको ओलम्पिक लक्ष्य

‘छनोट चरण पार गरेर ओलम्पिक खेल्ने मेरो सपना छ। त्यसका लागि अवसर पाए बाह्रै महिना पनि प्रशिक्षण गर्न तयार छु,’ नेपाली बक्सर सनिल शाहीले व्यक्त गरेका लक्ष्य हुन् यी।

गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णविजेता सनिलले दुई महिनालगत्तै ओलम्पिक छनोटमा पनि ऐतिहासिक सफलता दिलाएका थिए। सोही ओलम्पिक छनोटको स्मरण गर्दै सनिलले अवसर पाए छनोट चरण पार गरेर नै ओलम्पिक खेल्ने लक्ष्य सुनाएका हुन्। १३औं सागमा स्वर्ण जितेलगत्तै सनिलले टोकियो ओलम्पिकअन्तर्गत जोर्डनको ओमानमा सम्पन्न एसियाली क्षेत्रको छनोटमा नेपाली बक्सिङका लागि ऐतिहासिक सफलता दिलाएका थिए। ६३ केजी तौलसमूहमा उनले किर्गिस्तानका नम्बर एक मुक्केबाज स्तब्ध बनाउँदै टोकियो ओलम्पिक छनोटमा जित निकालेका  थिए।  

त्यसअघि ओलम्पिक छनोटमा कुनै पनि नेपाली बक्सरले जित निकाल्न सकेका थिएनन्। यद्यपि, उनले त्यस ऐतिहासिक क्षणलाई भने निरन्तरता दिन सकेनन् र क्वार्टरफाइनलमा एसियाका नम्बर एक बक्सर ताजकिस्तानका बाखोदुर उस्मानोभसँग स्तब्ध भए। त्यो ऐतिहासिक क्षण सनिलका लागि भने खासै अर्थ राख्दैन। ‘एउटा खेल जित्नु मात्र मेरो लक्ष्य थिएन। म छनोट चरण पार गरेर ओलम्पिक खेल्न चाहन्थें, जुन पूरा हुन सकेन। उसलाई जित्न सक्छु भन्ने आत्मबल थियो, तर सोचेजस्तो भएन। उनी (बाखोदुर) निकै अनुभवी थिए,’ सनिलले भने, ‘उनी मभन्दा धेरै पनि सशक्त रहेछन् र पराजित भएँ। उनको स्पिडमा खेल्न पनि सकिनँ।’

यद्यपि, हालका उज्बेकिस्तानी अलिसेर राखिमोभजस्तै विदेश प्रशिक्षक र केही अन्तर्राष्ट्रिय अभ्यास पाएमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सक्ने सनिलको विश्वास छ। ‘सागको जस्तै क्याम्पमा रहेर केही तयारी गर्न पाए अभैm राम्रो प्रदर्शन गर्न सक्थें जस्तो लाग्छ। अब विश्व क्वालिफायरबाट ओलम्पिक खेल्ने बाटो पनि छ,’ सनिलले भने, ‘ओलम्पिक एक वर्ष सरेकाले त्यो पनि सरेको छ। यद्यपि, मैले आफ्नो प्रशिक्षण छोडेका छैन। संघकै पहलमा करिब तीन÷चार हप्ता ट्रेनिङ गरे पनि कोरोना भाइरसको त्रास बढेसँगै प्रशिक्षण पुनः रोकियो।’ करिब चार महिना लकडाउनमा बसेर प्रशिक्षणमा फर्किंदा पिँजडाबाट फुत्किएको पन्छीजस्तो महसुस भएको उनको भनाइ छ।  

बक्सिङ ग्लोभ्स समातेको चार डिसेम्बरमा ठीक तीन वर्ष भएकै बेला उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण दिलाए।  

काठमाडौंको ओमबहालमा जन्मिएका सनिल सहरी परिवेशमा हुर्किए पनि उनमा खेलको प्रभाव खासै परेको थिएन। कक्षा १२ को परीक्षा दिएपछि फुर्सदमा थिए। यसबीच उनले पढाइका लागि अस्ट्रेलिया जाने योजनाका साथ पासपोर्ट पनि बनाए। पोर्चुगलमा रहेकी आमाले उनको योजनामा साथ दिए पनि पिता शरणबुद्ध शाहीले भने रोक लगाइदिए। पेसाले पत्रकार शरणबुद्ध आफ्नो एक मात्र सन्तानले देशभित्रै केही गरोस् भन्ने चाहन्थे। ‘अस्ट्रेलिया जान पासपोर्ट बनाएको थिएँ, तर पूरा भएन। त्यही पासपोर्ट मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थाइल्यान्डमा खेल्न चाहिँ काम लाग्यो,’ मुस्कुराउँदै उनले भने।  

सनिल शाही। तस्बिर: केशव थाेकर/नागरिक

पिताले योजना रोकिदिएपछि उनी टेकुको एउटा क्लबमा जिम गर्न पुगे। दिउँसोको समय न्युरोडमा अमेरिकन डाइभर्सिटी भिसा (डिभी) भर्ने एजेन्सीमा फोटोग्राफरको काम गर्न थाले। जिममा जाँदा एक दिन एक्कासि उनको ध्यान बक्सिङले तान्यो । खेल्दाखेल्दै पन्चिङ ब्यागमा मुक्का बर्साउने लत नै लाग्यो । बक्सिङका प्रशिक्षक र खेलाडीसँग चिनजान पनि भयो। र, उनी मोडिए रंगशालातिर। बक्सिङ ग्लोभ्स समातेको चार डिसेम्बरमा ठीक तीन वर्ष भएकै बेला उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण दिलाए।

त्यसबीच रोमाञ्चक तरिकाले उनको यात्रा राष्ट्रिय टोलीसम्म पुग्यो। ‘रंगशालाको एउटा कुनामा बक्सिङ खेल्थ्यौं। एक दिन दीपक महर्जन गुरु र विदेशी प्रशिक्षकले देख्नुभएछ। उहाँहरूलाई राष्ट्रिय टोलीमा स्पाइरिङ पार्टनर आवश्यक रहेछ र बोलाउनुभयो। केहीले विरोध जनाए पनि दीपक गुरुले अवसर दिइरहँदा बक्सिङप्रति मोह जाग्यो। त्यो नै मेरो खेलजीवनको टर्निङ पोइन्ट बन्यो,’ सनिलले थपे।

भाग्यमानी सनिल
केही भाग्य र आफ्नो इच्छाशक्तिले यहाँसम्म आइपुगेको बताउँछन् उनी। सनिल आठौं राष्ट्रिय खेलकुदमा कांस्य पदकमै खुम्चिएका थिए। त्यसैले १३औं सागमा खेल्ने बाटो बन्द भइसकेको थियो। आठौंका स्वर्णविजेता प्रकाश लिम्बु र रजतविजेता एकबहादुर घले दुवै विदेश गएपछि कांस्य विजेताद्वयले अवसर पाए। १३औं सागको छनोट खेल्नका लागि आठौंमा पदक र ठूला प्रतियोगिताका पदकधारी हुनुपथ्र्यो र सोहीअनुरूप थप दुई खेलाडी योग्य भए।

ती दुवै विरामी भएर छनोट खेलमा सहभागी हुन सकेनन् । प्रतिस्पर्धाबिना नै उनी १३औं सागका लागि छनोट भए। यो अवसरलाई उनले राम्रोसँग सदुपयोग गर्दै आफूलाई प्रमाणित पनि गरे। तीन वर्षअघि अपरिचित २२ वर्षे केटो एकाएक नेपाली बक्सिङमा उदायो। राष्ट्रिय टिममा छनोट भएलगत्तै झन्डै दुई महिना बैंककमा ट्रेनिङ गर्ने अवसर पाए । त्यहाँ रहँदा थाइल्यान्ड ओपन च्याम्पियनसिप खेले, जुन उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलो चरणमै चिनियाँ खेलाडीसँग पराजित भएका उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने १३औं साग थियो। यस पटक भने उनले आफूलाई प्रमाणित गरे।  

‘पहिलो खेलमा भुटानलाई हराएपछि नै मेरो आत्मबल बढ्यो। त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय जित थियो। सेमिफाइनलसम्म सहजै खेलें,’ सनिलले भने, ‘फाइनलमा भने भारतीय बक्सर अनुभवी थिए। तर उनको खेल हेर्न पाएको थिइनँ, साथीले उसको खेलको भिडियो बनाएका रहेछन्। त्यही भिडियो हेरेर प्रशिक्षकसँगको सल्लाहमा रणनीति परिवर्तन गर्दै खेल्दा स्वर्ण मिल्यो।’ एसियाली बक्सिङमै भारतलाई बलियो मानिन्छ । फाइनलमा भारतीय प्रतिद्वन्द्वी सामना गर्नुपर्दाको अवस्थाबारे सनिलले भने, ‘खेलअगाडि  एक जना प्रशिक्षकले मेरो खेलाडीले यसलाई हराएको र छनोट नखेली यसले साग खेलेको भनेर होच्याउनुभयो। निकै चित्त दुख्यो। दीपक गुरु (महर्जन) लाई भनें। तर उहाँले स्वर्ण जित, सबैको मुख बन्द हुन्छ भनेर हौसला दिनुभयो। त्यो इखले पनि जित्ने अठोट गर्दै मिहिनेत गर्दा सफलता हात लाग्यो।’    

सनिल दीपक महर्जनको हौसला र उज्वेकिस्तानका अलिसेरजस्ता राम्रा प्रशिक्षकका कारणले यहाँसम्मको सफलता मिलेको बताउँछन्। १३औं सागमा राष्ट्रलाई स्वर्ण पदक उपहार दिएसँगै उनी नेपाली बक्सिङका साथै नेपाली खेलकुद पनि परिचित भए। बक्सिङ खेल्न थालेको तीन वर्षमै उनले सागमा स्वर्णका साथै नेपाली बक्सिङ इतिहासमा नयाँ रेखा पनि कोर्न भ्याए। अझ भनौं, उनी नेपाली खेलकुदका लागि विशेष खेलाडीका रूपमा चिनिए।

प्रकाशित: ८ भाद्र २०७७ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App