नेपालले जलविद्युत् निर्यातलाई आर्थिक समृद्धिको आधार बनाउने रणनीति लिँदै आएको बेला भारतमा सौर्य ऊर्जाको तीव्र विस्तारले नयाँ चुनौती सिर्जना गरेको छ। भारतीय उद्योग समूहहरूले विशाल सौर्य परियोजनामा अर्बौं डलर लगानी गरेपछि त्यहाँ दिनको समयमा विद्युत्को मूल्य उल्लेख्य रूपमा घट्न थालेको छ।
ऊर्जा विश्लेषकहरूका अनुसार भारतीय ऊर्जा बजारमा बिहानदेखि साँझसम्म सस्तो सौर्य ऊर्जा उपलब्ध हुँदा नेपालले उत्पादन गर्ने जलविद्युत्को प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्छ। कतिपय अवस्थामा भारतीय बजारमा प्रतियुनिट बिजुलीको मूल्य दुई भारतीय रुपैयाँसम्म झर्ने गरेको छ, जबकि नेपालका धेरै जलविद्युत् आयोजनाको उत्पादन लागत चारदेखि ६ रुपैयाँसम्म पर्ने गरेको छ।
विशेषज्ञहरूका अनुसार नेपालले दिनभर उत्पादन गरेर सस्तोमा बेच्ने मोडेलभन्दा साँझ उच्च माग हुने समयमा विद्युत् बिक्री गर्ने रणनीति अपनाउनुपर्छ। त्यसका लागि जलाशययुक्त र पिकिङ प्रणालीका आयोजना आवश्यक पर्ने उनीहरूको भनाइ छ। ऊर्जा विज्ञहरूले नेपालले सस्तो सौर्य ऊर्जा आयात गरेर पानी सञ्चय गर्ने र उच्च मूल्यको समयमा विद्युत् निर्यात गर्ने दीर्घकालीन रणनीति लिनुपर्ने सुझाव दिएका छन्।
प्रकाशित: ३१ वैशाख २०८३ ०८:३७ बिहीबार





