१६ चैत्र २०८० शुक्रबार
खेल

प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ

इङ्लिस प्रिमियर लिग क्लब बर्नमाउथका एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको खुलासा भएको छ । आइतबार मात्र प्रिमियर लिगका दुई खेलाडीमा कोरोना पुष्टि भएकोमा एक खेलाडी बर्नमाउथका भए पनि अर्का एक खेलाडी कुन क्लबका हुन् केही बताइएको छैन ।

यससँगै प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती ६ जनालाई नै एक साता सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको थियो । ६ जनामध्ये वाट्फोर्डका रक्षक एड्रियान मारिप्पा र बर्नलीका सहायक प्रशिक्षक इयान वोन रहेका थिए ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका दुई खेलाडीलाई पनि एक साता सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ । प्रिमियर लिगका सबै २० क्लबका खेलाडी र पदाधिकारी गरी कुल ९ सय ९६ जनामा गत साता मंगलबार, बिहीबार र शुक्रबार कोरोना भाइरस परीक्षण गरिएको थियो ।

यता च्याम्पियनसिपका एकै क्लबका दुई खेलाडीमा पनि कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो ७२ घण्टामा च्याम्पियनसिपका २४ टोलीका खेलाडी र पदाधिकारी गरी कुल १ हजार १४ जनामा कोरोना परीक्षण गरिएको थियो ।

‘एक खेलाडीमा कोरोना पुष्टि भएको छ र उनलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ,’ बर्नमाउथले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबको प्रशिक्षण जारी रहन्छ । एफएले दिएको सातामा दुई पटक कोरोना परीक्षण गर्न दिएको निर्देशन कडाइका साथ पालना गरिनेछ ।’

प्रिमियर लिगले गत साता मंगलबारबाट सबै क्लबका खेलाडीलाई सामाजिक दूरीको निर्देशन पालना गर्दै अभ्यासमा फर्कन अनुमति दिइसकेको छ । यसअघि शुक्रबार इङ्लिस प्रिमियर लिगका कार्यकारी निर्देशक रिचार्ड मास्टर्सले जुनमा लिग पुनः सुचारु हुनेमा पूर्ण रूपमा विश्वस्त रहेको बताएका थिए ।

प्रिमियर लिगका खेलाडीहरूले मंगलबारबाट अभ्यास सुरु गरिसकेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण मार्च १३ पछि विश्वभरका अन्य लिगजस्तै प्रिमियर लिग पनि रोकिएको छ । प्रिमियर लिगले जुन १२ मा लिग सुचारु गर्ने गरी तयारी गरिरहेको छ ।

मास्टर्सले गत साता जर्मन बुन्डेसलिगा सुरु भएकाले के–कसरी अघि बढ्ने भन्नेबारे त्यो निकै लाभदायक भएको बताए । यद्यपि उनले अहिले लिग सुरु हुने वातावरण बन्दै गए पनि अझै पनि बिना कुनै खेल सिजनको अन्त्य हुने सम्भावना पनि रहेको प्रतिक्रिया दिएका थिए ।

उनले यस सिजन लिगमा सुचारु भए पनि सबै खेलहरू अन्यत्र जस्तै बन्द रंगशालामा हुने बताउँदै अर्को सिजनमा मात्र दर्शकलाई मैदानमा खेल हेर्न पाउने बताएका थिए ।

यता इङल्यान्डका सांस्कृतिक सचिव ओलिभर डाउडेनले प्रिमियर लिग पुनः सुचारु हुनुअघिका दुई चरणमध्ये अहिले समाजिक दूरी कायम गदै अभ्यास भइरहेको र आगामी साता सरकारले पूर्ण रूपमा अभ्यासका लागि अनुमति दिने संकेत गरेका थिए । प्रिमियर लिगको आगामी बेैठक बुधबार र बिहीबार बस्दै छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App