राप्ती–सोनारी गाउँपालिकाले पशुपालक किसानलाई गाईभैँसीको स्याहार–सुसार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यसहित ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागु गरेको छ।
गाउँपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन हुने सो कार्यक्रमअन्तर्गत सुत्केरी गाईभैँसीका मालिकलाई नगद र पोषण सामग्री गरी दुई हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराइने भएको छ। यसमा एक हजार रुपैयाँ नगद र अर्को एक हजार रुपैयाँ बराबरको भिटामिन, मिनरल र पशु आहार प्रदान गरिनेछ । गाउँपालिकाले जारी गरेको कार्यविधिअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित किसानले निवेदन दिएपछि अनुदान प्रक्रिया अघि बढाइने जनाइएको छ।
राप्ती–सोनारीलाई पशुपालनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन्। सुत्केरी अवधिमा पर्याप्त पोषण र उचित स्याहार नपाउँदा पशुको स्वास्थ्य कमजोर हुने, बाच्छाबाच्छीको विकासमा असर पर्ने र दुध उत्पादन घट्ने समस्या वर्षौंदेखि देखिँदै आएको थियो। गाउँपालिकाले यही चुनौतीलाई सम्बोधन गर्न ‘पशु सुत्केरी भत्ता (गाई, भैंसी) अनुदान सञ्चालन कार्यविधि २०८१’ जारी गर्दै व्यवस्थित रूपमा कार्यक्रम अघि सारेको हो।
कार्यविधिमा दुधालु गाईभैँसीको लैनो अवस्थामा थप स्याहार, उचित पोषणमार्फत दुध उत्पादन कायम राख्ने उद्देश्य उल्लेख गरिएको छ। त्यस्तै नवजात बाच्छाबाच्छी/पाडा–पाडीको मृत्युदर घटाउँदै तौल र गुणस्तर कायम राख्ने तथा पशुको दुई वेतबीचको अन्तर कम गरी उत्पादन लागत घटाउने लक्ष्य पनि राखिएको छ। सुत्केरी भएपछिका पहिलो दुई महिना सबैभन्दा संवेदनशील मानिने भएकाले यस अवधिमा किसानलाई पोषणयुक्त दाना, भिटामिन र मिनरल उपलब्ध गराएर सघाउने योजना गाउँपालिकाले अघि सारेको हो।
राप्ती–सोनारी गाउँपालिका–३ का पशुपालक किसान घनश्याम थारु भन्छन्, ‘पहिले सुत्केरी भएपछि गाईभैँसीलाई राम्रो खानपान दिन नसकिँदा दुध कम हुने, कहिलेकाहीँ बाच्छाबाच्छी नै बच्न कठिन हुने अवस्था हुन्थ्यो। अहिले गाउँपालिकाले सहयोग गर्न लागेपछि हाम्रा लागि ठूलो राहतजस्तो भएको छ। कम्तीमा औषधि र पोषण सामग्री किन्ने व्यवस्था हुन्छ भन्ने विश्वास पलाएको छ।’ उनका अनुसार बजारमा पशु आहार र भिटामिन महँगो हुँदा धेरै किसानले नियमित प्रयोग गर्न सकिरहेका थिएनन्। ‘अब सरकारी सहयोग आएपछि पशुको स्याहारमा सकारात्मक सुधार हुनेछ’, उनले थपे।
यस्तै गाउँपालिका–२ का किसान शान्ता बुढा पनि कार्यक्रमप्रति आशावादी छन्। ‘हामीजस्ता साना किसानका लागि दुई हजार रुपैयाँ ठूलो रकम नलाग्ला तर यसको प्रभाव भने ठूलो हुन्छ’, उनी भन्छिन्, ‘सुत्केरी अवधिमा चाहिने औषधि, भिटामिन र विशेष दाना किन्न सहज हुन्छ। गाउँपालिकाले कृषकलाई सम्झेर यस्तो काम गरेकोमा धन्यवाद दिनैपर्छ।’
गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख जयबहादुर कार्कीका अनुसार कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन विशेष मापदण्ड तय गरिएको छ। ‘यस कार्यक्रमको मूल उद्देश्य किसानलाई राहत दिनु मात्र होइन, दुध उत्पादनलाई स्थिर राख्दै पशु स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्नु हो’, उनले भने, ‘सुत्केरी अवधिमा उचित पोषण नपाउँदा पशुको दुध क्षमता घट्ने मात्र होइन, भविष्यमा पनि स्वास्थ्यमा असर पर्छ। त्यसैले यो अनुदानलाई सिठो, सचेतना र प्रविधिमैत्री पशुपालनतर्फको लगानीका रूपमा लिनुपर्छ।’
उनका अनुसार किसानले गाउँपालिकाले मागेका कागजातसहित आवेदन दिएपछि पशु स्वास्थ्य प्राविधिकले अनुगमन गर्नेछन्। ‘सुत्केरी भएको प्रमाण, पशुको अवस्था र स्याहारका पक्षहरू हेरेर अनुदान वितरण गरिन्छ। यसले कार्यक्रम दुरुपयोग हुन नदिनेछ’, कार्कीले बताए। उनका भनाइमा, ‘राप्तीसोनारीमा धेरै परिवारको आम्दानीको आधार पशुपालन हो। यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने हाम्रो योजना हो। पशु स्वस्थ भए मात्रै किसानको आय स्थिर हुन्छ, दूध उत्पादन बढ्छ र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।’
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था र गाउँ कार्यपालिकाले स्वीकृत गरेको वार्षिक कार्यक्रमअनुसार यो योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले किसानलाई सुत्केरी अवधिमा जागरूक रहन, नियमित खोप, पोषणयुक्त आहार र स्वच्छ वातावरणमा पशु राख्न पनि आग्रह गरेको छ।
प्रकाशित: १५ पुस २०८२ १०:४३ मंगलबार





