काठमाडौं – बुढानीलकण्ठले आइतबार पाँचौं बिएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा भएको फाइनलमा बुढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित ग¥यो। बुढानीलकण्ठका रूपेश नापितले १९ अंक जोडे। बुढानीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे। कीर्तिपुरका पारस योन्जनले १६ स्कोर गरे।
समूह ‘ए’ मा रहेको बूढानीलकण्ठले लिगमा आयोजक बिएमके, गोल्डेनगेट र आइस वाकरलाई पराजित गरेको थियो भने एसडिसीबाट वाकओभर पाएको थियो। त्यस्तै बुढानीलकण्ठले एनसिएचएसलाई हराएको थियो।
विजेताले ४० तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे। बुढानीलकण्ठका रूपेश नापित ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। उनले ५ हजार नगद पुरस्कार पाए।
विजेतालाई प्रदेश सांसद नारायण सिलवाल, बिएमकेका अध्यक्ष हरि अधिकारी, बिएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
प्रतियोगितालाई नेपाल इन्भेस्टमेन्ट बैंक, कोसी म्यानपावर, विशाल नगर माइक्रो बस सेवा, स्क्रेब सी फुड रेस्टुरेन्ट, युनाइटेड ट्रेडर (टोयोटा), गोरखकाली ड्राइभिङ सेन्टरलगायतले प्रायोजन गरेका छन्। असोज ४ गतेदेखि सुरु प्रतियोगितामा १० टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: १३ आश्विन २०७६ ०३:१७ सोमबार