२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

नवीनलाई यु-२३ पुरुष टोलीको जिम्मेवारी

घरेलु फुटबलमा सफल प्रशिक्षकका रूपमा चिनिँदै आएका नवीन न्यौपानेले नेपाली यु-२३ पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षकका रूपमा समेत काम गरिसकेका न्यौपानेलाई उक्त जिम्मेवारी दिएको हो। उनी एन्फा युथ एकेडेमीका प्रमुखसमेत हुन्। ताजकिस्तानमा आगामी आगामी सेप्टेम्बरदेखि सुरु हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि उनलाई नेपाली युवा टोलीको जिम्मेवारी दिइएको हो।

 सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराई ‘बद्री’ ले न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरे। नेपालको घरेलु फुटबलमा उनीसँग शीर्ष डिभिजनको क्लब मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबका साथै फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र एफसी चितवनको प्रशिक्षण सम्हालेको अनुभव पनि छ।

उनकै प्रशिक्षणमा आर्मीले अट्याकिङ फुटबल शैली खेल्न थालेको चर्चा हुने गरेको छ। आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा उक्त छनोट हुँदै छ। नेपाल समूह ‘एच’ मा छ। यस समूहमा नेपालसहित घरेलु टोली ताजकिस्तान, सिरिया र फिलिपिन्स छन्।

यो समूहका सबै खेल ताजिकिस्तानमा नै हुँदै छन्। नेपालले सेप्टेम्बर ३ मा ताजकिस्तानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। यसै गरी नेपालले सेप्टेम्बर ६ मा सिरिया र ९ मा फिलिपिन्सको सामना गर्नेछ। समूहको शीर्ष दुई टोलीले आगामी सन् २०२६ को जनवरीमा साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपमा स्थान बनाउनेछन्।

प्रकाशित: १२ असार २०८२ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App