पहिला प्रसूति गृह थापाथलीमा जन्मिनेबित्तिकै शिशुको स्वास्थ्यमा संकट देखिएपछि मात्र उपचार हुन्थ्यो। अहिले जन्मिएको २४ घन्टाभित्र सात प्रकारका स्वास्थ्य परीक्षणपछि मात्र शिशुलाई घर पठाइन्छ। घर गइसकेपछि पनि फलोअपका लागि बोलाइन्छ। यो सेवाका बारेमा धेरैलाई जानकारी छैन।
अस्पतालले यो सेवा सन् २०२४ को अन्तिमतिर सुरु गरेको हो। यसलाई ‘निओवन स्क्रिनिङ’ अर्थात् नवजात शिशु परीक्षण सेवा भनिन्छ। यो सेवामा शिशुको जन्मिनेबित्तिकै खुट्टाबाट रगत निकालिन्छ। रगतलाई विशेष प्रविधिबाट निर्मित कागजमा राखिन्छ र अनुवांशिक या जन्मजात रोगको परीक्षण गरिन्छ। यो प्रविधिबाट सात थरीका जन्मजात हुने रोगको परीक्षण हुँदै आएको नवजात शिशु विशेषज्ञ डा. प्रज्ज्वल पौडेलले जानकारी दिए।
चिकित्सकका अनुसार थाइराइड ग्रन्थिसम्बन्धी हर्मोन, एडिनो ग्रन्थिको क्रिया स्थिति थाहा पाउने परीक्षण, शरीरमा रातो रक्तकोषको स्थिति पहिचान गर्ने परीक्षण, ग्याक्टोसेमिया (दुधमा पाइने चिनी पचाउन नसक्ने जन्मजात रोग), फिनाइलएनिन मेटोबोलिजिम (प्रोथिनको एक अंश पचाउन नसक्ने जन्मजात रोग), कास्टिक फाइब्रोसिस (फोक्सो र पाचनसम्बन्धी रोग) लगायतको परीक्षण हुन्छ।
अस्पतालले हालसम्म चौध महिनाको अवधिमा ६ हजार नवजात शिशुको न्युवर्न स्क्रिनिङ गरिसकेको छ। तीमध्ये ६० जनामा जन्मजात हुने विभिन्न रोग पहिचान भएको थियो। यस्ता समस्या भएका आठजना शिशुको मृत्यु भइसकेको छ।
देशभर जन्मिएका सबै शिशुको परीक्षण तथा उपचार हुने हो भने जन्मजात समस्या भएका शिशुहरूको संख्यामा अधिक कमी आउने डा. शैलेन्द्र कर्मचार्य बताउँछन्। अस्पतालमा हुने यी सात प्रकारका परीक्षण धेरैमा हुने अनुवांशिक तथा जन्मजात हर्मोन तथा ग्रन्थिजन्य रोग हुन्, जुन रोगको समयमा परीक्षण, पहिचान र उपचार गरेमा शिशुलाई मृत्युबाट बचाउन सकिन्छ।
अस्पतालमै जन्मिएका सबै शिशुको परीक्षण हुन नसकेको अस्पतालका नवजात शिशु विशेषज्ञ डा. शैलेन्द्र कर्मचार्य बताउँछन्। कतिपय अभिभावकले यसको महत्व नबुझेको र जनशक्ति अभावमा कतिपयको परामर्श एवं नमुना संकलन कार्य हुन नसकेको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिला रगत संकलन गर्ने स्टाफ एकजना थियो। कतिपयका आमा–बुबा शिशुको रगत निकाल्न मान्दैनन्।’ अहिले पनि धेरै अभिभावकलाई यी परीक्षणका बारेमा जानकारी नहुँदा सबैले परीक्षण गर्दैनन्।
सरकारले गर्भजाँच, प्रसुति सेवा जस्ता सुरक्षित मातृत्व सेवामा सुधार गरे पनि सन् २०१६ अर्थात् विगत १० वर्षयता अपेक्षित रूपमा सुधार हुन नसक्नुमा नवजात शिशुमा हुने अनुवांशिक तथा अन्य स्वास्थ्य समस्याको परीक्षण पहुँच नपुग्नु रहेको डा. पौडेल बताउँछन्। यो सेवालाई केन्द्रीय अस्पतालमा मात्र नभई प्रसूतिका प्रयोगशाला उपयोग गर्ने गरी नजिकका अन्य अस्पताल र हवाई सेवाबाट नमुना पठाउन सम्भव भएका उपत्यकाबाहिरका अन्य अस्पतालमा पनि परीक्षण गर्न सकेमा प्रभावकारी हुने डा. पौडेल बताउँछन्।
यसको पहुँच विस्तार गर्न नमुना संकलनका लागि जनशक्ति, पुनर्परीक्षण, विपन्न शिशु उपचार, फलोअप तथा जनचेतना, प्रयोगशाला तथा रिएजेन्टका लागि आवश्यक बजेट अपुग भएकाले यसको दिगोपनामा चुनौती देखिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन्। उनी भन्छन्, ‘एकातिर अभिभावकमा सचेतना छैन, अर्कातिर साधनस्रोतको सीमितता छ।’
प्रकाशित: २२ पुस २०८२ ०९:२८ मंगलबार





