मार्सल आट्रर्सको विधा केम्पोको खेल कौशल विकास गर्ने उद्देश्यले खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी संघ (एनकेकेएफ) र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा दुई दिने केम्पो खेलाडी प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको हो। ललितपुरको हात्तीवनमा एक सय ५० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले उक्त प्रशिक्षणमा सहभागी भएका थिए। ‘मार्सल आट्र्स मास्टरी, केम्पो लेगेसी’ भन्ने नारा अनुरूप खेलाडीहरूको प्राविधिक क्षमता, प्रशिक्षकहरूको शिक्षण विधि र रेफ्रीहरूको निर्णय कौशल विकास गर्ने लक्ष्य साथ यस किसिमको प्रशिक्षण कार्यक्रम राखिएको हो।
उक्त तालिममा प्रशिक्षकहरू अन्जना शाही, इन्द्र चित्रकार र राम क्षेत्रीलगायतले प्रशिक्षण दिएका थिए। बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले विश्वस्तरीय केम्पोको प्रगति र नेपालमा यसको उदयबारे उल्लेख गरे। बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले नेपाल केम्पोलाई निरन्तर सहयोग गरिने प्रतिवद्धता जनाए।
केही महिनाअगाडि पोर्चुगलमा सम्पन्न विश्व च्याम्पियनसिपमा नेपालले पाँच रजत र दुई कांस्य पदक प्राप्त गरेको थियो। सोही च्याम्पियनसिपका विजेता अन्जना शाहीलाई सो कार्यक्रममा सम्मान गरिएको थियो। अन्जनाले उक्त च्याम्पियनसिपमा वभिन्न विधामा एक रजत र दुई कांस्य पदक जितेकी थिइन्। विपेश थापाले चार पदक जितेका थिए। संघका अध्यक्ष पाभेलकुमार शाहले केम्पो खेल विकासका लागि सहयोग गरेको भन्दै धन्यवाद दिँदै भविष्यमा पनि प्रदेश सरकारको सहयोगको अपेक्षा व्यक्त गरे।
प्रकाशित: ९ असार २०८२ ०७:४३ सोमबार





