१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

कृषि विकास बैंक ‘ए’ लाई दोहोरो उपाधि

कृषि विकास बैंक ‘ए’ ले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगितामा कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बने। दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो। पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो। नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराउँदै तेस्रो भयो। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार पाए।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो। निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो। विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए।

फुटसलसँगै १४औं कर्मचारी खेलकुद सम्पन्न भएको छ। फुटसलसहित ब्याडमिन्टन र टेबल टेनिस गरी तीन खेलको प्रतिस्पर्धा भएको थियो। ब्याडमिन्टनमा ६ स्पर्धा थिए। त्यसमा नेपाल विद्युत प्राधिकरणले स्वर्णमा ‘क्लिन स्विप’ गर्‍यो। टेबल टेनिसमा चार स्पर्धामा खेल भएको थिए।

राष्ट्रिय वाणिज्य बैंकले तीन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले एक स्वर्ण जिते। विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेल र आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए। समापनका अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई पनि सम्मान गरिएको थियो। जेठ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १९ संस्थाका तीन सय २७ प्रतिस्पर्धी सहभागी थिए।

प्रकाशित: २९ जेष्ठ २०८२ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App