९ पुस २०८२ बुधबार
image/svg+xml
खेल

एरिकासहित ६ खेलकर्मी सम्मानित

एकपछि अर्को ऐतिहासिक पदक विजेता करातेकी एरिका गुरुङसहित करातेका पाँच र क्रिकेटका एक गरी कुल ६ खेलकर्मी सम्मानित भएका छन्।

एन्जल हार्ट नेसनल स्कुलले आइतबार एक कार्यक्रम आयोजना गर्दै एसियाली खेलकुद, एसियन च्याम्पियनसिप र कराते प्रिमियर लिगमा नेपालका लागि ऐतिहासिक पदक विजेता एरिकासहित कुल ६ खेलाडीलाई सम्मान गरेको हो।

तारकेश्वरमा भएको उक्त कार्यक्रममा श्रीलंकामा सम्पन्न नवौं एसियन गोजुरियो कराते च्याम्पियनसिपमा स्वर्ण विजेता खेलाडी एनोज महर्जन, करिना पुरी र मनीषा रानाभाट पनि सम्मानित भए।

गत मे २५ तारिखमा सम्पन्न च्याम्पियनसिपमा कुमुतेतर्पm मनीषाले सिनियर ६१ केजीमाथि र करिनाले ५५ केजी तौलसमूहमा तथा एनोजले सिनियर व्यक्तिगत कातामा स्वर्ण जितेका थिए। एसियन गोजुरियो करातेको रेफ्री कमिसनको अध्यक्ष भएका रवि शाही पनि उक्त कार्यक्रममा सम्मानित भए।

सो अवसरमा नेपाली यु–१९ क्रिकेट टोलीका सदस्य युवराज खत्रीलाई पनि सम्मान गरिएको कार्यक्रम संयोजक तथा एन्जल हार्ट नेसनल स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिम्लसिनाले बताए। काठमाडौंमा नै भएको यु–१९ विश्वकप क्रिकेट एसिया क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै युवराजलाई सम्मान गरिएको कार्यक्रम संयोजक सुमनले जानकारी दिए।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, एन्जल हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ र नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, एन्जल हार्टका प्रशिक्षक तथा एसियन कराते रेफ्री महेश महर्जन लगायतले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मानपत्रसहित सम्मान गरेका थिए।

एसियन कराते रेफ्री महेशले एरिकासहित खेलाडीलाई व्यक्तिगत रूपमा नगद पुरस्कार प्रदान गरेका थिए। एरिकाले गत हप्तामा मात्र विश्व कराते महासंघको आयोजनामा मोरक्कोमा सम्पन्न कराते प्रिमियर लिगमा नेपालको लागि कांस्य पदक जितेकी थिइन्।

विश्वका उत्कृष्ट ३२ खेलाडीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपाल पहिलोपल्ट सहभागी हुन पाएको हो। पहिलो सहभागितामा नै एरिकाले नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल रहिन्। उनले प्रशिक्षकबिना नै त्यो सफलता दिलाएकी हुन्।  

प्रकाशित: २६ जेष्ठ २०८२ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App