समूहमा अपराजित रहँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब आइतबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आइतबार कोसी प्रदेशमाथि ३–० को जितसँगै आर्मी अपराजित रहँदै समूह ‘ए’ को विजेता बन्यो।
ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको जितमा काशिराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले गोल गरे। पहिलो हाफमै विभागीय टोली आर्मीले तीन गोल गर्दै कोसीमाथि दबाब बनाएको थियो। तर, दोस्रो हाफमा भने कोसीले आर्मीलाई रोके पनि गोल फर्काउन सकेन र हार सामना गर्यो। उक्त खेलको म्यान अफ द म्याच राजेन्द्र भए। यस समूहमा चार टोली छन्। तीन खेलसम्म अपराजित रहँदै आर्मीले ९ अंक बटुल्यो। हारपछि कोसीले भने सेमिफाइनलमा पुग्न अर्को टोलीको नतिजामा भर पर्नुपर्नेछ।
तीन खेलबाट कोसीको चार अंक र गण्डकीको दुई खेलबाट एक अंक छ। यस समूहबाट गण्डकी र कोसी दुवैको सेमिफाइनलमा पुग्ने सम्भावना छ। समूहको अन्तिम खेलमा सोमबार गण्डकी र मधेस प्रतिस्पर्धा गर्दै छन्। यो खेलले नै सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। मधेसले दुई खेलमा नै हार बेहोरिसकेको छ।
आइतबार तय पुरुषतर्फ समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा महिलामा आर्मी र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण हुन सकेन। यी खेलसँगै सोमबार नै पाँच प्रतिस्पर्धा हुनेछन्। आइतबार आर्मी र गण्डकीबीचको खेलले महिलातर्फ विजेता टुङ्गो लाग्ने थियो। तर, वर्षा भएपछि खेल सम्भव हुन सकेन।
बाँकी खेल पुरुषतर्फ गण्डकी र मधेस तथा कर्णाली प्रदेश र एपिएफबीच हुनेछन्। महिलामा मधेसले बागमतीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। महिलामा चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगको शीर्ष टोली विजेता बन्नेछ। समान दुई खेलबाट समान ६ अंक जोडेका आर्मी र गण्डकी उपाधि दौडमा छन्। पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा समूह ‘बी’ बाट पुलिस दुई जित निकाल्दै शीर्ष दुई स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको छ। पुलिस बागमतीमाथि जित निकाल्दै समूहविजेता बन्न चाहन्थ्यो। तर, वर्षाका कारण सम्भव हुन सकेन। दुई खेलबाट कर्णालीको तीन अंक छ।
समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ। कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै छ। जुन अबको दुई खेलले मात्र टुङ्गो लगाउनेछ। संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष र राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमश: ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार नगद पुरस्कार पाउनेछन्।
प्रकाशित: २२ वैशाख २०८२ ०७:४१ सोमबार





