जैसीदेवलका खेलाडीद्वय रोजिन प्रजापति र अन्जिला मोक्तानले शुक्तबमर पाँचौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।
यु–१७ एकल पुम्सेको पुरुषमा रोजिन र महिलामा अन्जिला पहिलो भएका हुन्। स्युचाटारमा भएको प्रतियोगिताको पुरुषमा नागार्जुन नगरपालिकाका अर्जुन श्रेष्ठ दोस्रो तथा चन्द्रागिरि नगरपालिकाका रिजन मोक्तान र काठमाडौं महानगरपालिकाका पेम्बा घिसिङ तेस्रो भए।
महिलामा गोदावरी नगरपालिकाकी सरगम थापा दोस्रो तथा विदुर नगरपालिकाकी कौशिला तामाङ र नागर्जुनकी रोशनी शाह तेस्रो बने। काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा जैसीदेवल युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको एकल पुम्सेको यु–१४ पुरुषमा काठमाडौंका साजन लामा पहिलो, गोदावरीका दिप्सन महर्जन दोस्रो तथा कागेश्वरी मनोहरा नगरपालिकाका गिरीश श्रेष्ठ र महालक्ष्मी नगरपालिका आयुश मटे तेस्रो स्थानमा रहे।
सोही स्पर्धाको महिलामा महालक्ष्मीकी युनिशा रानामगरले स्वर्ण, काठमाडौंकी शिरीष तामाङले रजत तथा गोदावरीकी प्रकृति प्रोज र कागेश्वरीकी नेरिया श्रेष्ठले कांस्य जिते। प्रतियोगिताको ग्योरोगीमा १६ र पुम्सेमा ४ गरी २० स्पर्धामा आयोजकका २ सहित २० टिमका ४ सय ३५ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।
ग्योरोगी र पुम्सेमा उत्कृष्ट हुने ४ खेलाडीले जनही १ सय ५० अमेरिकी डलर प्राप्त गर्नेछन्। उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई समान एक सय अमेरिकी डलर प्रदान गरिनेछ। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।
प्रकाशित: ३० चैत्र २०८१ ०८:०८ शनिबार





