श्रीभगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार च्यासल युवा क्लबसँग गोलरहित बराबरी खेल्दा शीर्ष स्थानमा दबाब बढाउने अवसर गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा श्री भगवती र च्यासलले गोलरहित बराबरीमा खेल्दै अंक बाँडे। यससँगै श्रीभगवतीले शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडसँगको अंक दूरी घटाउँदै दबाब बनाउने अवसर गुमाएको छ।
श्रीभगवती र च्यासलले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन्। बराबरीसँगै श्री भगवतीले शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको हो। श्री भगवती पाँच खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको प्लानिङको १२ अंक छ। यो नतिजासँगै च्यासलले पनि शीर्ष तीनमा उक्लिने मौका गुमायो।
च्यासलले पाँच खेलबाट सात अंक जोडेको छ। लिगमा सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा एक अंक पनि नजोड्दै पुछारमा रहेको श्रीकुमारी क्लबले छैटौं स्थानमा रहेको बाँसबारी क्लबसँग खेल्नेछ। दोस्रो खेलमा आठौं स्थानको मध्यपुर युथ एसोसिएसनले ११औं स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्ने तय छ।
प्रकाशित: २५ चैत्र २०८१ ०८:५२ सोमबार