१० चैत्र २०८१ आइतबार
image/svg+xml ९:१० पूर्वाह्न
खेल

नेपालको सिंगापुरमाथि ऐतिहासिक जित

उदीयमान स्ट्राइकरका रूपमा हेरिएका जिलेस्पीजंग कार्कीको गोल निर्णायक बनेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरमाथि ऐतिहासिक जित निकालेको छ ।

सिंगापुर राष्ट्रिय रंगशालामा नेपालले शुक्रबार घरेलु टोली सिंगापुरमाथि १–० को साँघुरो जित निकाल्यो । नेपालले आफूभन्दा १५औं स्थान माथिको सिंगापुरलाई हराउन सफल भएको हो । एएफसी एसियन कप छनोटको अभ्यासस्वरूप नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्दा सुखद सुरुआत गरेको छ । साथै नवनियुक्त  मुख्य प्रशिक्षक म्याट रस पनि आफ्नो पहिलो खेलमा नै नेपाललाई जित दिलाउन सफल भएका छन् । उनको प्रशिक्षणमा नेपालले पहिलोपल्ट सिंगापुरलाई हराउँदै इतिहास पनि रचेको छ ।

जिलेस्पीजंगले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीले राइट साइडबाट दिएको क्रसलाई जिलेस्पीले वान टचमार्फत सुन्दर गोल गरेका हुन् । यससँगै जिलेस्पीले नेपालको जर्सीमा तेस्रो गोल पूरा गरे । त्यो गोलपछि नेपालका प्रशिक्षक रसले डिफेन्सिभ रणनीति अपनाएका थिए । जुन सफल हुँदा नेपालले अग्रता जोगाउँदै जित निकाल्यो । सिंगापुरले केही चुनौती प्रस्तुत गरे पनि नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले असफल बनाए । प्रशिक्षक रसले सुमन श्रेष्ठ र सुवास बम ठकुरीलाई डेब्यु गराएका थिए । 

नेपाल र सिंगापुर सन् १९८९ पछि एकअर्काविरुद्ध मैदान उत्रिएका थिए । ३६ वर्षपछि भएको भेटमा नेपाली टोलीले नतिजा आफ्नो बनाउन सफल भयो । पछिल्लोपल्ट सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो । त्यो भेटमा नेपाल सिंगापुरसँग ७–० को फराकिलो हार सामना गर्न बाध्य भएको थियो । सोही नै विश्वकपअन्तर्गतकै खेलमा पनि नेपाल ३–० ले पराजित भएको थियो । 

त्यसअघि सन् १९८२ को किङ्स कपमा नेपालले सिंगापुरसँग २–० को हार बेहोरेको थियो । नेपालले एएफसी एसिया कप छनोटको तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ । अब नेपालले मंगलबार एएफसी एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । नेपाल रहेको समूह ‘एफ’ मा भियतनाम र लाओस पनि छन् । शीर्ष स्थानमा रहने राष्ट्रले एसियन कप खेल्नेछ । 

प्रकाशित: ८ चैत्र २०८१ २१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App