१३ चैत्र २०८१ बुधबार
image/svg+xml ११:२९ पूर्वाह्न
खेल

सुनसरी, निशा, सरस्वती र सम्झनालाई उपाधि

विभिन्न दूरीमा काठमाडौं पिंक केयरअथन महिला दौडको उपाधि सुनसरी रोकाया, निशा शार्की, सरस्वती भट्टराई र सम्झना राईले जितेका छन्।

लिजर पोर्ट नेपालको आयोजनामा शनिबार सम्पन्न काठमाडौं पिंक केयरअथनमा महिला दौडअन्तर्गत सुनसरीले २१ किलोमिटरमा, निशाले १० किलोमिटरमा, सरस्वतीले ५ किलोमिटरमा, सम्झनाले तीन किलोमिटरमा उपाधि जितेका हुन्।

२१ किमिमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भए। १० किमिमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो भए। पाँच किमिमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो भए। तीन किमि दौडतर्फ गायत्री श्रेष्ठ दोस्रो तथा सुपृता थापा तेस्रो स्थानमा रहे। लिजर पोर्ट नेपालले मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस भएकाले महिलाहरूका लागि यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम जुम्बा सत्रसँग सुरु भई, वाक र रनमा अघि बढेको थियो।

तीन तीन किलोमिटर, पाँच किलोमिटर, १० किलोमिटर र २१ किलोमिटरको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो। तीन र पाँच किलोमिटरका विजेताहरूले पदक र काठमाडौंको लाजिम्पाटमा रहेको दुषित प्रिनसिस होटेलमा दुई जनाका लागि नाइट प्याकेज प्राप्त गरे।

साथै १३ जना विजेताले मेटलाइफको तर्फबाट पनि पुरस्कारस्वरूप इन्सुरेन्स प्याकेज प्राप्त गरे। १० किलोमिटरको विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार र तेस्रो हुनेले ११ हजार प्राप्त गरेका छन्। २१ किलोमिटरका विजेताले ५१ हजार, दोस्रोले ३१ हजार र तेस्रोले २१ हजार प्राप्त गरेका छन्।

ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा दुई वर्षदेखि ७० वर्षसम्मका करिब दुई हजार महिलाहरू सहभागी थिए। सधैं घरायसी काममा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।

काठमाडौं पिंक केयरअथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र समग्र जीवनशैलीका लागि प्रतिबद्धता व्यक्त गर्छ। सन् २०१७ मा यसको स्थापना भएदेखि वार्षिक कार्यक्रम महिलाहरूको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम बनेको छ।  

प्रकाशित: १० चैत्र २०८१ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App