नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई सातौं खेलसम्म पुर्याएको छ । जारी प्रतियोगितामा एकमात्र अपराजित टोली पुलिसले बिहीवार बागमती प्रदेशमाथि ९३ रनको जित निकाल्यो ।
२९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमा समेटियो । इशान पाण्डेले ७० र शुभ कंसाकारले ३६ रन जोडे पनि बागमतीको अपराजित यात्रा रोक्न सकेनन् ।
पुलिसका लागि ललित नारायण राजवंशीले ४, कुशल भुर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए ।
यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९७ रनको विशाल योगफल तयार गरेको थियो । जारी प्रतियोगिताको सर्वाधिक स्कोर बनाउने क्रममा पुलिसका लागि कुशल भुर्तेलले ८८ र कप्तान दीपेन्द्र सिंह ऐरीले ६० रन जोडे । अमित श्रेष्ठले ४८ र आरिफ शेखले ३८ रनको योगदान गरे । पहिलो विकेटका लागि अमितले कुशलसँग १ सय २४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए ।
प्रतियोगितामा अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ । बागमती ६ खेलमा ४ अंकका साथ आठौं स्थानमा खस्केको छ ।

बिहीबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ रनले पराजित गर्यो । कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो ।
लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । चौथो विकेटका लागि कप्तान देव खनालसँग मिलेर प्रज्वलले ९४ रनको साझेदारी गरे । कप्तान देव ४० रनमा आउट भए ।
कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले समान ३, प्रकास जैशीले २ तथा सुनिल धमला र कप्तान दिवान पुनले समान १ विकेट लिए ।
यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे । ५६ रन जोड्दा ६ विकेट गुमाएको स्थिति सम्हाल्दै सातौं विकेटका लागि दीपेन्द्र रावतले अर्जुन घर्तीसँग मिलेर १ सय २ रनको साझेदारी गरे । अर्जुन ५६ रन जोड्दै आउट भए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिए ।
प्रतियोगितामा लुम्बिनी ७ खेलमा ८ अंकका साथमा तेस्रो स्थानमा छ । ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ ।
प्रकाशित: ७ चैत्र २०८१ २०:५७ बिहीबार