१३ चैत्र २०८१ बुधबार
image/svg+xml ६:३६ पूर्वाह्न
राजनीति

राउतलाई अध्यक्ष मान्न नाउपा तयार!

सिके राउत

सिके राउतले नेतृत्व गरेको जनमत पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष तथा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकीकरण हुने करिबकरिब टुंगो लागेको छ।  

नाउपाका एक नेताका अनुसार शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा प्रायः सबै केन्द्रीय सदस्यले एकीकरणको पक्षमा धारणा राखेका छन्। नाउपा र जनमतबिच एकीकरण भयो भने एकीकृत पार्टीको अध्यक्षमा सिके राउतलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा बैठक केन्द्रित थियो। बैठकमा अधिकांश केन्द्रीय सदस्यले राउतलाई अध्यक्ष स्वीकार गरेर भए पनि दुई पार्टीबिच एकीकरण गर्नुपर्ने धारणा राखेका थिए।

‘बैठकमा नाउपा र जनमतबिच एकीकरण गर्ने विषयमा नाउपाका केन्द्रीय सदस्यहरू करिबकरिब सबै सकारात्मक देखिएका छन्। एकीकृत पार्टीको अध्यक्षमा राउतजीलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा बैठक केन्द्रित भएको छ’, नाउपाका केन्द्रीय उपमहासचिव राजन गुरुङले भने, ‘एकीकृत पार्टीका अध्यक्ष राउतजीलाई स्वीकार गर्ने भन्ने विषयमा अधिकांश केन्द्रीय सदस्य सकारात्मक रहेको पाइयो तर यसको औपचारिक टुंगो शनिबार पार्टीले गठन गर्ने कार्यदलले लगाउनेछ ।’

उनका अनुसार शनिबार सम्पन्न हुने नाउपा केन्द्रीय समिति बैठकले जनमतसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले जनमतले गठन गरेको कार्यदलसँग छलफल गरी पार्टी एकीकरणको ढाँचा, संरचना, एकीकृत पार्टीको नाम, झन्डा, चुनाव चिह्नलगायत सबै विषय टुंगो लगाउनेछ। गुरुङका अनुसार उक्त कार्यदलले तीन दिनदेखि सात दिनभित्र प्रतिवेदन बुझाउने भएको छ।

यस्तै कार्यदल जनमतले फागुनको अन्तिम साता बनाइसकेको छ। उक्त कार्यदलमा पार्टी उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरत्सिंह यादव र सचिव बालगोविन्द चौधरी छन्। फागुन २४ र २५ गते बद्रीबासमा सम्पन्न जनमत पार्टीको केन्द्रीय समिति बैठकले नाउपासँग पार्टी एकीकरण गर्ने औपचारिक निर्णय गरेको थियो। बैठकले एकीकरणको लागि ढाँचा तयार गर्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको थियो।

‘नाउपासँग पार्टी एकीकरण गर्ने निर्णय हाम्रो पार्टीले औपारिक रूपमा गरिसकेको छ। त्यसैले एकीकरण हुन्छ कि हुँदैन भन्ने अब सोध्नुपर्ने विषय रहेन’, प्रवक्ता यादवले भने, ‘एकीकरणका लागि अरू विषय मिलाउन हामीले तीन सदस्यीय कार्यदल गठन गरेका हौं ।’नाउपा केन्द्रीय समिति २१६ सदस्यीय छ। शुक्रबारको बैठकमा १८० जना केन्द्रीय सदस्य सहभागी थिए। बैठकमा संरक्षक चौधरी पनि सहभागी थिए। बैठकमा सहभागी एक नेताका अनुसार पार्टी अध्यक्ष श्रेष्ठले पनि जनमतसँग एकीकरण गर्ने विषयमा सकारात्मक धारणा राखेकी छन्। दुई/तीन महिनादेखि जनमत र नाउपाबीच एकीकरणको चर्चा छ।

प्रतिनिधिसभामा जनमत पार्टीबाट एक प्रत्यक्ष निर्वाचितसहित ६ सांसद छन्। त्यस्तै प्रतिनिधिसभामा नाउपाका ४ सांसद छन्। पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचबाट जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको छ भने नाउपा राष्ट्रिय पार्टी बन्न सकेको छैन। जनमत र नाउपाबीच एकीकरण भए तराई/मधेसकेन्द्रित पहिलो ठुलो दल हुनेछ।

एकीकरण भई बन्ने नयाँ पार्टी जसपाभन्दा पनि ठूलो बन्ने छ। स्रोतका अनुसार जनमत र नाउपाबीच एकीकरण गर्न जनमतका अध्यक्ष सिक राउत र नाउपाका संरक्षक रेशम चौधरी उत्साहित भएका छन्। यी दुई नेताबीच पटकपटक कुराकानी भइरहेको छ। राउतलाई अध्यक्षको प्रस्ताव चौधरी आफैंले गरेका छन्। राउत अध्यक्ष भए श्रेष्ठको वरियता दोस्रो या तेस्रो हुने छ ।

प्रकाशित: ९ चैत्र २०८१ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App