लुम्बिनी प्रदेश सरकारले यातायात सेवा कार्यालय तौलिहवाको मातहतमा रहने गरी सिमानाका कृष्णनगरमा अस्थायी ( पटके ) इजाजत पत्र सेवा सुरु गरेको छ ।
नेपाल घुम्न आउने भारतीय पर्यटकलाई लक्षित गरी कृष्णनगरमा सो सेवा सुरु गरिएको हो ।
कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, पूर्व सांसद अभिषेक प्रताप शाह, उद्योग वाणिज्य संघ लगायतको पहलमा प्रदेश सरकारले कृष्णनगरमा पटके इजाजत सेवा सुरु गरेको हो। भन्सार कार्यालय भए पनि सो सेवा त्यहाँ नहुँदा यात्रुहरूलाई तौलिहवा आउनु पर्ने बाध्यता थियो । व्यस्त नाकाकारुपमा रहेको कृष्णगनरमा यात्रुहरूको सहजतालाई मध्यनजर गरी त्यहाँ सो सेवा सुचारु गरिएको यातायात सेवा कार्यालय तौलिहवाका प्रमुख गोबिन्द चौधरीले बताए । भारतीय सवारी साधनको आगमनलाई व्यवस्थित गर्न यो सेवा आवश्यक रहेको उनले बताए ।
मेयर रजतप्रताप शाहले आफूहरूको निरन्तरको माग र पहल अनुसार प्रदेश सरकारले यो सेवा कृष्णनगरमा दिएकोमा धन्यावाद दिए । उनले अब भारतबाट धार्मिक पर्यटकका लागि नेपाल आउनेहरूलाई यसले धेरै सहजता थपेको बताए । उनले भन्सार भए पनि रुट परमिट नहुँदा तौलिहवा जानु पर्ने झन्झट अब भने समाप्त भएको उनले बताए । भारतको बढनी हुँदै यो नाकाबाट भारतीय पर्यटकहरू स्वर्गद्वारी ( प्रभुनाथ ), सुपा देउराली लगातयका धार्मिक स्थलमा जाने गर्छन् । यो सेवाले अब भारतीय पर्यटकको आगमनमा वृद्धि हुने मेयर शाह बताउँछन् ।
भारतीय मोटरसाईकलका लागि २ सय नेपाली रुपैयाँ, कार पाँच सय, मिनि ट्रक ७ सय र बसका लागि एक हजार शुल्क लाग्ने बताइएको छ । बिना रुट परमिट यात्रा गरिए ५ हजार सम्म जरिवाना तोकिएको छ ।
प्रकाशित: १० चैत्र २०८१ १६:५६ आइतबार