९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको उपादेयता के?

गत चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति गठन भयो। पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा गठन भएको भनिएको समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंसहित ११ सदस्य छन्। 

तर, राजेन्द्र लिङ्देन र कमल थापाले आफूहरू समितिमा नरहने घोषणा गरिसकेका छन्। प्रमुख राजावादी दललाई नै बेवास्ता गरिएको भन्दै उनीहरूले समितिमा नरहने घोषणा गरेका हुन्। त्यसयता राप्रपा र राप्रपा नेपाल राजावादी मोर्चा तथा प्रदर्शनमा त्यति सक्रिय पनि देखिएका छैनन्। उनीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहबाटै आफूहरू 'बाइपास'मा परेको बताउने गरेको स्रोत बताउँछ। अन्यथा, समिति बन्नुभन्दा अगाडि उनीहरू राजावादी मोर्चामा खह्रो उत्रिएका थिए।

पछिल्लो प्रजातन्त्र दिवसको पूर्वराजा ज्ञानेन्द्र शाहको दृश्य-सन्देशबाट हौसिएका उनीहरूले गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन गरेर ठूला गणतन्त्रवादी दलहरूलाई पनि हच्काइदिएका थिए। तर, राजावादी दलको 'ग्रीप'भन्दा बाहिर रहेका सुवेदीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले अघि बढाएपछि उनीहरू अन्योलमा छन्। स्रोतका अनुसार उनीहरूले आफूहरूको अवमूल्यन गरिएको भन्दै चित्तसमेत दुखाएका छन्।

तर, स्वयम् सुवेदीले भने समिति बन्नुमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता नरहेको जिकिर गर्छन्। समिति बन्नुमा राप्रपाकै नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर राणा, हरिबहादुर बस्नेत, प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूले भूमिका खेलेको भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता नरहेको सुवेदी बताउँछन्।

६ महिनायता पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो भेट पनि नभएको उल्लेख गर्दै उनले भने, 'महाराजको यहाँ सक्रियता छैन। बाहिर जे आएका छन्, त्यस्तो छैन। राप्रपाकै नेताहरूले भने साथ दिनुभएको छ।'

प्रमुख राजावादी दल पनि बेखुस, पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता वा चाहना पनि छैन भनेपछि यो समितिको उपादेयता के त ? कसरी अगाडि बढ्छ भन्ने जिज्ञासामा सुवेदीको जवाफ छ, 'आवश्यकताले समिति बनेको हो। यसले आवश्यकताअनुसार र उद्देश्यअनुसार काम गर्छ। संयोजकको हैसियतले म थप कुराहरू मिलाउँदै छु। म सबै मिलाएर अगाडि बढ्छु।'

कसरी अगाडि बढ्छ भन्ने नागरिकको थप प्रश्नमा उनले भने, 'हेर्दै जानुहोला नि, म गर्न सक्छु। हिन्दूराष्ट्र पनि हुन्छ, राजा पनि फर्किन्छन्।'

आन्दोलन सुस्ताउने भय

झन्डै चार दशक राजावादी आन्दोलनभन्दा बाहिर रहेका सुवेदीलाई एकाएक अघि बढाइँदा राजावादी प्रमुख दलहरू राप्रपा तथा राप्रपा नेपाल बेखुस छन्। यससँगै राजावादी आन्दोलन सुस्ताउने भय बढेको छ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ। सुवेदीको नेतृत्वमा समिति बनेको भोलिपल्ट अर्थात् चैत ५ गते कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ। बैठकपछि नेता ज्ञानेन्द्र शाहीले भने, 'नवराज सुवेदीको नेतृत्वमा समिति बनेको कुरा राप्रपालाई थाहा छैन।'

राप्रपाले थप आन्दोलन कसरी अघि बढ्छ भन्नेबारे १२ गते बस्ने बैठकले तय गर्ने बताएको छ। उता राप्रपा नेपाल पनि खुसी छैन। समितिमा अध्यक्ष कमल थापा राखिएका भए पनि उनले प्रतिनिधित्व नगर्ने भएका छन्। चैत ५ गते नै बसेको कार्यसम्पादन समितिले अध्यक्ष थापाको साटो उपाध्यक्ष तारानाथ लुइँटेललाई उक्त समितिमा प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएको छ।

यस्तो अवस्थामा राजावादी आन्दोलनको प्रभावकारिता घट्ने भय बढेको राप्रपाका एक नेता बताउँछन्। पर्याप्त सल्लाह नगरी समिति बन्दा त्यसले समग्र आन्दोलनको स्पीडलाई ङ्याकेको भनाइ ती नेताको छ।

उनले भने, 'अस्तिभन्दा आन्दोलनको स्पीरिट र स्पीडमा सुस्तता आएको जस्तो देखिन्छ। अब थप कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न जरुरी छ।'

यो पनि पढ्नुहोस्

मेरो नेतृत्वको समिति आफ्नो उद्देश्यअनुरूप अघि बढ्छ: नवराज सुवेदी

प्रकाशित: १० चैत्र २०८१ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App