१३ चैत्र २०८१ बुधबार
image/svg+xml १२:३२ अपराह्न
राजनीति

मेरो नेतृत्वको समिति आफ्नो उद्देश्यअनुरूप अघि बढ्छ: नवराज सुवेदी

पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा गठन भएको भनिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफू नेतृत्वको समितिले काम थाल्ने बताएका छन्।

'मेरो नेतृत्वको समितिले काम थाल्छ। अहिले म आवश्यक परामर्शमा छु, अहिले पनि बैठकमै छु,' सुवेदीले आइतबार (आज) नागरिकसँग भने।

समितिले आफ्नो उद्देश्यअनुरूप काम गर्ने संयोजक सुवेदी बताउँछन्। 'समिति जुन उद्देश्यले गठन भएको हो, त्यो काम गर्नेछ। त्यसका लागि संयोजकको हैसियतले मैले कुराहरू मिलाउँदैछु। समिति अगाडि बढ्छ,' उनले भने।

गत चैत ४ गते गठित ११ सदस्यीय समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासमेत सदस्य छन्। तर, उनीहरूले असन्तुष्टि व्यक्त गर्दै समितिमा आफूहरू नरहने घोषणा गरिसकेका छन्।

राजेन्द्र लिङ्देन, कमल थापाहरूले नरहने बताइसकेका छन् नि ? भन्ने जिज्ञासामा सुवेदीले भने, 'अहिलेलाई यति भन्छु, समिति आफ्नो उद्देश्यअनुरूप अगाडि बढ्छ। थप कुरा पछि गरौँला।'

समिति राप्रपाकै नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर राणालगायतको सक्रियता बनेको बताइन्छ। यो कुरा स्वयम् सुवेदीले पनि स्वीकारेका छन्। तर, उनले समिति गठनमा पूर्वराजा ज्ञानेद्र शाहकै सक्रियता भने नरहेको बताएका छन्।

प्रकाशित: १० चैत्र २०८१ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App