वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ देखि ३० गतेसम्म मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा- २०८३ सञ्चालन हुने भएको छ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ।
‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान दिने मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए।
रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनि उनको भनाइ छ।
सार्वजनिक भएको कार्यतालिका अनुसार रथयात्रा यही कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम-गलेश्वर हुँदै बेनी-कुन्डुलेफेदी पुगेर रात्रि विश्राम गर्नेछ। कात्तिक ९ गते पञ्चकोट-बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्रि विश्राम गर्ने कार्यक्रम छ।
कात्तिक १० गते पोखराबाट दमौली-डुम्रे-मुग्लिन-धादिङ- थानकोट-कलङ्की-स्वयम्भू-बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ। कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ।
कात्तिक १२ गते भक्तपुरबाट साँगा-बनेपा-धुलिखेल-भकुण्डेबेँसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली- भीमान-कटारी-गाईघाट र बराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्रि विश्राम गर्नेछ।
कात्तिक १४ गते चतराबाट धरान-इटहरी-विराटचोक-बेलबारी- लेटाङ-पथरी-ऊर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ। कात्तिक १५ गते गोवर्धन गौशाला किलिकले- लालमखोला-माईधार-बिर्तामोड-अर्जुनधारा-बुधबारे-चारआली-भद्रपुर र काँकडभिट्टा हुँदै श्रीयोगीराज कमलनयनाचार्य आश्रम, माइधारमा रात्रि विश्राम गर्नेछ।
कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ। कात्तिक १७ गते विराटनगर-दुहबी-इटहरी-लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्रि विश्राम गर्ने कार्यक्रम छ।
कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर-बडहरी- लालबन्दी-बर्दिवास-लालबन्दी-नवलपुर-हरिवन-चन्द्रनिगाहपुर-निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ।
कात्तिक १ गते सिमरा-पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्रि विश्राम गर्ने कार्यक्रम तय गरिएको छ।
कात्तिक २० गते हेटौँडाबाट मनहरी-वसन्तपुर-भण्डारा-पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ।
कात्तिक २१ गते नारायणगढ-गैँडाकोट-भेडाबारी-फूलबास, रजहर-दलदले-प्रगतिनगर-कावासोती-डण्डा-चोरमारा-अरुणखोला- दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गर्ने कार्यतालिका छ।
कात्तिक २२ गते बर्दघाट-भुताहा-भूमही-सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ। कात्तिक २३ गते खरेन्द्रपुर-चन्द्रौटा-मालुवाङ-लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ।
कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ।
कात्तिक २६ गते महेन्द्रनगर-भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ। कात्तिक २७ गते धनगढी-हसुलिया-राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ।
कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ। कात्तिक २९ गते तुलसीपुर-घोराही-लमही-गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्रि विश्राम गरिनेछ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ।
श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३ आयोजना हुनेछ। रासस
प्रकाशित: २ कार्तिक २०८३ १०:१३ सोमबार





