३ चैत्र २०८१ आइतबार
image/svg+xml ७:२० पूर्वाह्न
खेल

जो हारमा पनि जित खोजिरहन्थे

एउटा प्रसिद्ध भनाइ छ, ‘जित्नेवाला कहिल्यै हार मान्दैन र हार मान्नेवाला कहिल्यै जित्दैन।’ यहाँ यो उल्लेख गर्नुको विशेष कारण छ। एक खेलाडीको करियर यही भनाइसँग मिल्छ।

उनी हुन्, मुवाँथाईका गुणराज रुचाल। गुणराज आर्मीका अमलदार पनि हुन्। लामो समयसम्म गुणराजको अथक संघर्ष कथाजस्तै छ। तब मात्र उनले मुवाँथाईमा ऐतिहासिक स्वर्ण दिलाए। अझ भनौं झन्डै दशक लामो हारमा गुणराज कहिल्यै थाकेनन्। जतिपल्ट हारे झन् उनी बलियो बने। हारबाट गुणराज माथि उठे र अनि बने ऐतिहासिक स्वर्ण विजेता। हारको शृंखला जहिल्यै नमीठो हुन्छ। त्यो पनि सातौं पटकसम्म। यति धेरै पटक हारले एक मानिसको जीवन कस्तो होला? सायदै कोही पटकपटक प्रयास गरिरहला र? तर, गुणराज एक यस्ता खेलाडी थिए, जो हारमा पनि सधैं मुस्कुराइरहन्थे।

उनको त्यो मुस्कान आत्मविश्वासले भरिएको हुन्थ्यो। सदैव आफ्नो लक्ष्यमा उस्तै दृढ हुन्थे। तब पो उनी नेपालका लागि एक ऐतिहासिक स्वर्ण विजेता बन्न सफल भए। थाइल्यान्डको बैंककमा सम्पन्न १९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा उनले सेमी प्रोमा स्वर्ण जितेका थिए। मुवाँथाईमा यो ऐतिहासिक पदक हो।

विश्व च्याम्पियनसिपको सेमी प्रोमा यसअघि कुनै पनि नेपाली खेलाडीले स्वर्ण जित्न सकेका थिएनन्। तर, गुणराज सफल भए। उनी पनि आठौं प्रतिस्पर्धा अथवा प्रयासपछि मात्र सफल भए। पुरुष ५४ केजी तौलसमूहमा उनले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जितेका हुन्।

त्यसअघि उनी लगातार असफल भइरहेका थिए। तर पनि उनले कहिल्यै हार मानेनन्। एकपछि अर्को प्रतिस्पर्धा गरे। अन्ततः विश्व च्याम्पियन भए। ‘एमेच्योरमा च्याम्पियन भरहेको थिएँ। तर, प्रो. मा मैले धेरै पटक प्रयास गरे पनि सफल भइरहेको थिइनँ। आठौं सहभागितामा भने सफलता पाएँ। त्यसैले पनि यो स्वर्ण मेरा लागि विशेष छ। किनकि यो जीवनकै ठूलो सफलता हो,’ गुणराजले भने।

नेपाल राष्ट्रिय मुवाँथाई संघले पनि उनको प्रतिभालाई सम्मान गर्दै तीनपल्टसम्म बेस्ट प्लेअर अफ दी इयरबाट सम्मान गर्‍यो। यसले उनलाई सम्मान प्रोत्साहन मिलेको उनी बताउँछन्। उनको पारिवारिक पृष्ठभूमि खेलकुदमैत्री होइन।

उनी आफैंले पनि खेलकुद क्षेत्रमा लाग्छु भन्ने कल्पना नै गरेका थिएनन्। अप्रत्याशित रूपमा उनी खेलकुदमा जोडिए। गुणराजको जन्म पूर्वी पहाडस्थित ओखलढुङ्गाको सुनकोसी गाउँपालिकामा एक सामान्य परिवारमा भएको थियो। त्यहींको स्थानीय कालिका माविबाट उनले विद्यालय तहको शिक्षा पूरा गरेका हुन्। उनको उद्देश्य थियो, गाउँमा स्वास्थ्य क्षेत्रमा काम गर्ने। उनले ओखलढुङ्गाको सदरमुकाम सिएमए पढे। २०६६ सालमा उनले सिएमए पास गरे। त्यसपछि लोकसेवा तयारी गरेर उनी सरकारी सेवाबाट गाउँमा काम गर्न चाहन्थे। तर, २०६८ सालमा उनको उद्देश्य फेरियो।

‘लोकसेवा तयारी गर्दै थिएँ। त्यसै बेला रेडियोमा छिमेकी गाउँ मूलखर्कमा कराते तालिम सुरु हुँदै छ भन्ने सुनेँ,’ गणराजले भने,‘त्यस समय मलाई पनि कराते खेल्न मन लाग्यो। त्यो खेल्न म मूलखर्क धाउन थालेँ।’

खेल्दै जाँदा उनमा करातेप्रति मोह जाग्यो र खेलमै समर्पित भए। स्वास्थ्य क्षेत्रमा केही गर्न आतुर उनका पाइला खेलतर्फ मोडिए। कराते सिक्नका लागि उनी करिब दुई घण्टाको पैदल हिँडेर पुग्थे। एक नेपाली चलचित्र मायाबजार हेरेपछि उनमा खेलाडी बन्ने चाहना झनै बढ्यो। २०६९ साल असार २९ गते उनी नेपाली सेनामा भर्ती भए। त्यहाँ पनि उनले खेललाई निरन्तरता दिए।

मार्सल आटर््स (आइकिडो) खेल्ने थाले। आर्मीमा खेलकुद राम्रो माध्यम थियो। त्यसले उनको लक्ष्य सहज पनि भयो। यो अवसर सदुपयोग गर्दै उनले बक्सिङ, जुडो, कराते, तेक्वान्दो र क्राभमागा खेले। यसबीच उनको भेट मुवाँथाईका संस्थापक गणेशलाल कक्षपतिसँग भयो। अनि सुरु भयो, उनको मुवाँथाईको यात्रा। उनले २०७१ सालदेखि कक्षपतिसँगै मुवाँथाईको प्रशिक्षण लिन थाले। एक वर्ष प्रशिक्षण पूरा गरेसँगै उनी पहिलोपल्ट रिङमा उत्रिए।

२०७२ सालको फागुनमा उनले थाइल्यान्डमा भएको १३औं एमेच्योर तथा प्रो एमेच्योर विश्व मुवाँथाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे। पहिलो प्रतिस्पर्धामा उनले सफलता भने पाएनन्। तर, आर्मेनियाका खेलाडीविरुद्ध उनले उत्कृष्ट चुनौती प्रस्तुत गरेका थिए। सोही प्रदर्शनपछि नेपाल राष्ट्रिय मुवाँथाई संघले उनलाई मुवाँथाई बेस्ट प्लेअर अफ दी इयरबाट सम्मानित गर्‍यो। त्यो सम्मानले गुणराजमा आत्मविश्वास पलायो। ‘पहिलो प्रतिस्पर्धामा राम्रो खेलेको थिएँ। संघले पनि मलाई सम्मान गर्दै थप प्रेरणा दियो। त्यसपछि अब आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने।

उनले क्योकुसिन करातेलाई पनि सँगै निरन्तरता दिए। मुवाँथाई थाई बक्सिङ हो। क्योकुसिनजस्तो फुल कन्ट्याक्ट करातेले पनि मुवाँथाईको प्रतिस्पर्धामा मद्दत मिल्छ।

उनी मुवाँथाईमा अब्बल बन्न चाहन्थे। त्यसैले पनि गुणराजले क्योकुसिनलाई सँगै अगाडि बढाएका हुन्। २०७३ सालमा उनले क्योकुसिनको ब्ल्याक बेल्ट पूरा गरे। तर, यस क्रममा उनको दायाँ हात भाँचियो। यससँगै उनको मुवाँथाईमा ऐतिहासिक सफलता प्राप्त गर्ने लक्ष्य प्रभावित भयो। उनी सदैव आफूलाई मानसिक रूपमा फिट राख्न चाहन्थे। त्यसैले भाँचिएको हात हुँदा पनि उनी सदैव खेल प्रतिस्पर्धाअगाडि नै हुन्थे। यसै समयमा प्रधानमन्त्री कप राष्ट्रिय मुवाँथाई च्याम्पियनसिप भयो। उनले यहाँ आफूलाई निर्णायकका रूपमा उभ्याए। प्रतिस्पर्धाका लागि पूर्ण तयार नहुँदासम्म गुणराजले रेस्लिङ सिके।

नेपालको पहिलो रेस्लभर हिमालयन टाइगरसँग रेस्लिङमा रेफ्री कोर्स पूरा गरे। २०७३ सालमा नै काठमाडौंमा भएको रेस्लिङ शोमा उनले रेफ्रीको भूमिका निर्वाह गरे। चोटमा हुँदा पनि खेलमा नै समर्पित रहने र दुखलाई शक्तिमा बदल्ने उनको विश्वास गज्जबकै थियो। गुणराजको यही समर्पणका कारण उनी यसै वर्ष प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट उ कस कमन्डेसन ब्याजबाट पुरस्कृत भए। एक वर्षपछि नै उनी चोटबाट फर्किए।

२०७४ सालमा उनले चितवनमा भएको तेस्रो इन्डो नेपाल मुवाँथाईमा प्रतिस्पर्धा गरे। उनले यो प्रतिस्पर्धामा स्वर्ण पदक जिते। चितवनको खुला मैदानमा भारतीय खेलाडीविरुद्ध उनको प्रदर्शनले खुबै प्रशंसा बटुल्यो। त्यस बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाट उनी सम्मानित भए। यो जित दुई महिनापछि थाइल्यान्डमा सुरु हुने १५औं एमेच्योर तथा प्रो एमेच्योर विश्व मुवाँथाई च्याम्पियनसिपको संघारमा थियो। जहाँ उनी दोस्रो सहभागितामा स्वर्ण जित्न चाहन्थे। तर यसपल्ट पनि उनी सफल भएनन्। अन्य प्रतिस्पर्धामा भने उनले स्वर्ण जित्थे। २०७५ सालमा नेपालमै आयोजित तेस्रो कम्ब्याट इन्टरनेसनल मुवाँथाई च्याम्पियनसिपमा भारतीय खेलाडीलाई हराउँदै उनले स्वर्ण जिते। सोही वर्ष पुसमा उनले कम्बोडियामा दोस्रो कुखमेर विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे। जहाँ उनको हात दोस्रोपल्ट भाँचियो।

यो चोटले उनको खेल करियरमा ठूलो धक्का लाग्ने अनुमान थियो। तर, उनी खेलमा फर्कन सफल भए। गुणराजको मिहिनेतका कारण यसै वर्ष नेपाल राष्ट्रिय मुवाँथाई संघले दोस्रोपल्ट बेस्ट प्लेअर अफ दी इयर २०१८ बाट सम्मान गर्‍यो। उनले सेमी प्रो. मा च्याम्पियन बन्ने लक्ष्यअनुरूप अन्य प्रतिस्पर्धा जारी राखे र स्वर्ण पनि जिते। यसबीच उनले नेपाली सेनाभित्र पनि प्रशिक्षण दिए। यसले थप आत्मबल बढेको उनी बताउँछन्। थाइल्यान्डको उत्कृष्ट मुवाथाई ट्रेनिङ सेन्टर फेयरटेक्स ट्रेनिङ सेन्टरमा उनले एक महिना प्रशिक्षण लिए। यसले उनको प्रतिभा थप निखार्ने काम गर्‍यो।

२०७९ सालमा पनि उनले थाइल्यान्डमा प्रशिक्षण लिए। यससँगै गुणराज अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निरन्तर सहभागी भए। सन् २०२२ उनका लागि विशेष रह्यो। यसै वर्ष उनले चर्चित फेयरटेक्स फाइट, विश्व फाइट प्रतियोगिता, विश्व प्रोफेसनल फाइट च्याम्पियनसिप र राजादामनेर्न नकआउट फाइटजस्ता प्रतियोगितामा प्रतिस्पर्धा गरे। १७औं एमेच्योर तथा प्रोफेसनल÷एमेच्यार विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जित्ने लक्ष्यसहित उनले ती प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन्। तर, यसपल्ट उनी खाली हात फर्कनुपर्‍यो।

अन्य प्रतियोगितामा सफलता पाएपछि तेस्रोपल्ट संघले उनलाई बेस्ट प्लेयर अफ दी इयर २०२२ बाट सम्मान गर्‍यो। त्यसपछि उनले बैंककमा भएको १८औ संस्करणमा पनि प्रतिस्पर्धा गरे। तर, आठौं प्रयासमा पनि गुणराज असफल नै भए। यी हारपछि दिन कुनै पनि खेलाडीका सहज हुँदैन। तर, उनमा भने धैर्यता अनि विश्वास थियो। एक दिन च्याम्पियन बन्नेछु भन्ने लक्ष्य पनि उनमा थियो। त्यसैले उनले आगामी संस्करणका लागि धेरै मिहिनेत गरे। फेरि उनले १९औं एमेच्योर तथा प्रो. एम विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रोफेसनलमा प्रतिस्पर्धा गरे। बैंककमा भएको उक्त च्याम्पियनसिपमा भने उनी सफल भए।

एक दशकसम्म उनले गरेको धैर्यताको फल प्राप्त भयो। मार्सल आटर्सको मुवाँथाईमा नयाँ इतिहास रचे। तर, यसपल्ट पनि उनको हात भाँचियो। स्वर्ण जितेकाले तेस्रोपल्ट हात भाचिँदाको पीडा उनले अनुभव गरेनन्। ‘त्यो फाइटमा मेरो हात भाचिएको मैले थाहा नै पाइनँ। धेरैपल्ट हारिसकेको थिएँ। यसपल्ट गुमाउन चाहँदैनथें। त्यसैले पनि होला त्यो समय दुखाई भएन। सायद स्वर्ण प्राप्त भएकाले ममा त्यो अनुभव भएन। पछि भने धेरै गाह्रो भयो,’ गुणराज आफ्नो अनुभव सुनाउँछन्।  

प्रकाशित: १ चैत्र २०८१ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App