पाल्पाको रामपुर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका खेलाडीले सहभागिता जनाएका छन्।
एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विधाका छात्रछात्रा गरी २७ विधामा प्रतिष्पर्धा हुने शिक्षा शाखा प्रमुख विकल काफ्लेले जानकारी दिए। जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने उनको भनाइ रहेको छ। यसभन्दा अघिल्ला वर्षमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिँदै आइएको थियो।
पाँचौ संस्करणको रूपमा शुक्रबारदेखि शुरु भएको रनिङ शिल्ड प्रतियोगिताको नगर उपप्रमुख बालकुमारी थापाले उद्घाटन गरिन्। स्थानीय तहमा हुने खेलकुदजन्य क्रियाकलापले खेलाडीलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेको उनको भनाइ थियो। खेलको विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उपप्रमुख थापाले विश्वास दिलाइन्।
विद्यालय तहबाटै खेलकुदका गतिविधि बढ्न थालेपछि खेलप्रति विद्यार्थीको उत्साह बढेको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले उल्लेख गरे। यस्ता कार्यक्रमले नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण अवसर मिल्ने उनको तर्क छ। प्रतियोगिता दरैठाँटी माध्यमिक विद्यालयको खेल मैदान रामपुर–६ विजयपुरमा जारी छ। रासस
प्रकाशित: १७ फाल्गुन २०८१ ०७:०६ शनिबार





