जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लबले अग्रता लिएको छ ।
वीरगञ्जमा मधेशलाई १२९ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको पुलिसले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । यो अवस्थामा पुलिस ४५ रनले अघि रहेको छ र उसँग अझै ७ विकेट बाँकी छ ।
पुलिसका लागि कुशल भुर्तेलले ६३ रन बनाए । त्रिभुवन आर्मीविरुद्धको पहिलो खेलमा चल्न नसकेका कुशलले मधेशविरुद्ध भने ६८ बलमा दश चौका प्रहार गर्दै ६३ रन बनाएका हुन् । दिलिप नाथले ४० र अमित श्रेष्ठले ३४ रन जोडे । गुल्शन झा २० र क्याप्टेन आरिफ शेख १३ रनमा नटआउट छन् ।
हरिशंकर साहले २ र अभिषेक तिवारीले एक विकेट लिएका छन् ।
यो पनि पढ्नुहोस्
जय ट्रफी : त्रिभुवन आर्मीविरुद्ध बागमतीको कमजोर जवाफ
यसअघि पहिला ब्याटिङ गरेको मधेश ४२.४ ओभरमा १२९ रनमा अलआउट भयो । मयन यादवले आफ्नो उच्च फर्म कायम राख्दै पुलिसविरुद्ध ५९ रन बनाए । निरज यादवले २९ र अभिषेक तिवारीले नटआउट १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
गुल्शन झा एक्लैले ५ विकेट लिए । १३ ओभर बलिङ् गरेका उनले ४ मेडनसहित ४० रन खर्चेर ५ विकेट झारेका हुन् । कुशल भुर्तेलले २ तथा श्रवण यादव र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो ।
प्रकाशित: २४ पुस २०८१ १७:२७ बुधबार