९ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

अन्ततः भारतले यूएईमा च्याम्पियन्स ट्रफी खेल्ने

बाँकी सबै खेल पाकिस्तानमा हुने

लामो समयको विवादपछि अन्ततः भारतले पाकिस्तानको आयोजनामा आगामी वर्ष हुने च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउने भएको छ । पाकिस्तानमा कुनै पनि खेल नखेल्ने अडानमा रहेको भारतले आफ्ना सम्पूर्ण खेलहरु तटस्थभूमि यूएईमा खेल्ने गरी सहमति जनाएको हो ।  

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकवीले युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख शेख नह्यान अल मुबारकसँग भेट गरेपछि भारतका खेलहरु यूएईमा हुने निश्चित भएको हो । पीसीबीका प्रवक्ता अमिर मिरले पनि पीसीबीले च्याम्पियन्स ट्रफीका लागि यूएईलाई तटस्थ स्थानको रूपमा रोजेको बताए ।  

भारत सेमिफाइनल र फाइनलमा पुगे ती खेल यूएईमा हुने अन्यथा पाकिस्तानमै गराउने गरी सहमति जुटेको छ । भारत फाइनलमा पुग्न असफल भए उपाधि भिडन्त पाकिस्तनको लाहोरमा हुनेछ ।  

भारत पाकिस्तानसँगै समूह 'ए' मा छ । उक्त समूहमा बंगलादेश र न्युजिल्यान्ड पनि छन् । भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा हुनेछ । लिग चरणका अन्य खेलमा भारतले फेब्रुअरी २० मा बंगलादेशसँग र मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ। यी सबै खेल अब यूएईमा हुने भएको हो ।  

च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पाकिस्तान र न्युजिल्यान्डबीच फेब्रुअरी १९ मा कराँचीमा हुनेछ । पाकिस्तानको अन्तिम लिग खेल बंगलादेशसँग फेब्रुअरी २७ मा रावलपिंडीमा खेलिनेछ।  

समूह 'बी' मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड र दक्षिण अफ्रिका छन् । भारत बाहेकका सबै खेलहरु लाहोर, कराँची र रावलपिंडीमा खेलाइनेछ।

सहमतिअनुसार सन् २०२७ सम्म भारतले आयोजना गर्ने आईसीसी इभेन्टमा पाकिस्तानका खेलहरू पनि तटस्थ स्थानमा हुने गरी हाइब्रिड मोडललाई अन्तिम रूप दिइएको हो। यस्तोमा सेमिफाइनल र फाइनल जस्ता नकआउट खेलहरू पनि तटस्थ स्थानहरूमा आयोजित हुनेछन्।  

च्याम्पियन्स ट्रफीबाट सुरु हुने यो सम्झौता सन् २०२५ मा भारतमा हुने महिला एकदिवसीय विश्वकप र २०२६ को पुरुष टी-२० विश्वकपमा पनि लागु हुनेछ । टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन्। यो सन् २०२८ मा हुने महिला टी-२० विश्वकपमा पनि लागु हुनेछ । 

प्रकाशित: ८ पुस २०८१ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App