नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
लिग चरणबाटै बलियो देखिएका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स एनपीएलको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई भित्र रहँदै प्लेअफमा पुगेपनि सुदूर पहिलो क्वालिफायरबाट र जनकपुर दोस्रो क्वालिफायरबाट उपाधि नजिक पुगेका हुन् । मैदानमा सुदूरको नेतृत्व दीपेन्द्र सिंह ऐरी र जनकपुरको नेतृत्व आसिफ शेखले गर्नेछन् । नियमित क्याप्टेन अनिल साह घाइते भएपनि जनकपुरको नेतृत्व आसिफले गरेका हुन् ।
फाइनलअघि शुक्रबार सञ्चारकर्मीहरुसँग दुवै टोलीका कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको र उपाधि जित्नेमा ढुक्क रहेको बताए ।
जनकपुरका क्याप्टेन शेखले मैदानमा हरेक खेल उत्तिकै महत्त्वपूर्ण हुने भएकाले फाइनलका लागि आफूहरूले छुट्टै योजना नबनाएको बताए । फाइनल खेलमा नेपाली खेलाडीहरु नै निर्णायक बनुन् भन्ने आफ्नो चाहना रहेको सुनाउँदै उनले भने, ‘सकेसम्म सुरुवाती ओभरमा बढीभन्दा बढी रन बटुल्ने प्रयास गर्नेछौँ । खासगरी अन्तिम चार ओभरलाई सदुपयोग गर्ने प्रयास हुनेछ ।’
सुदूरपश्चिमलाई कमजोर नआँक्ने उल्लेख गर्दै शेखले खेल जित्ने हो भने आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘समग्रमा हामी फाइनलका लागि मानसिक रूपमा तयार छौँ । कीर्तिपुर क्रिकेट मैदानमा दुई प्रकारको विकेट छ । एउटामा बढी रन बन्छ र अर्कोमा कम । त्यसैले अवस्था हेरेर हामी आफ्नो रणनीति बनाउने छौँ ।’
सुदूरपश्चिमका कप्तान ऐरीले फाइनलका लागि आफूहरु तयार रहेको बताउँदै फाइनल पनि पहिलाका खेलहरु समान रहेकाले कुनै विशेष योजना नबनाएको बताए । फाइनलका लागि सबै खेलाडी तयार रहेको र खेलाडीहरुले आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी फाइनल खेलमा शतप्रतिशत दिने प्रयास गर्नेछौँ ।’
लिग चरण र पहिलो क्वालिफायरमा पराजित गरेपनि बोल्टलाई फाइनलमा भने आफूहरूले कमजोर प्रतिद्वन्द्वी नठानेको उल्लेख गर्दै ऐरीले खेलाडीहरु लयमा देखिए पनि नतिजाको बारे भने अहिले नै कुनै अनुमान लाउन नसक्ने उल्लेख गरे । उनले भने, ‘खेल हो, नतिजा जे पनि आउन सक्छ ।’
प्रकाशित: ५ पुस २०८१ १९:२४ शुक्रबार