नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले दोस्रो जित दर्ता गरेको छ । प्लेअफको सम्भावना राख्न विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गर्यो । लिग चरणमा एक खेल बाँकी रहँदा विरानगरको ४ अंक भएको छ ।
हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।
विराटनगर र चितवनसँगै सुदूरपश्चिम रोएल्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सको पनि प्लेअफमा पुग्ने सम्भावना कायमै छ । जनकपुर बोल्ट्सले यसअघि नै प्लेअफमा स्थान बनाएको छ भने लुम्बिनी एकमा मात्र जित निकाल्दै लिग चरणमै रोकिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले बनाएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो । चितवनका लागि सन्तोष कार्कीले २८, रवि बोपाराले २० र क्याप्टेन कुशल मल्लले २५ रन बनाए । अमर राउटेलाले ४२ रन जोडे पनि हार भने टार्न सकेनन् ।
विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा बसिर अहमद, क्रिस सोल, लोकेश बम र सुवास भण्डारीले समान एक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।
सुरुवात खराब रहेपनि मध्यक्रमका बसिर अहमदले अविजित ६८ रन बनाएपछि विराटनगर सम्मानजनक योगफल तयार पार्न सफल भयो । मार्टिन गुप्टिलले ४५ र राजेश पुलामीले ३३ रन बनाए । विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ।
बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक विकेट लिए।
यो पनि पढ्नुहोस्
एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी एक जितमा सीमितप्रकाशित: २८ मंसिर २०८१ १६:२१ शुक्रबार