२६ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

एनपीएल : पाँचौं हारसँगै लुम्बिनी बाहिरियो, काठमाडौंको दोस्रो जित

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को समूहचरणबाटै बाहिरिएको छ । 

लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूहचरणमै रोकिएको हो । ६ खेलबाट उसको २ अंकमात्र छ । लिगको आफ्नो अन्तिम खेलमा लुम्बिनीले शुक्रबार कर्णाली याक्ससँग खेल्नेछ ।  

बुधबारको जितपछि काठमाडौंको भने प्लेअफमा पुग्ने सम्भावना कायमै भएको छ । चौथो खेलमा दोस्रो जित निकालेको काठमाडौं चार अंकमा पाँचौ स्थानमा उक्लिएको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा ८५ रनमा अलआउट भयो । सन्दीप जोराले २६, उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बरु काठमाडौंका बलरले अतिरिक्त ११ रन दिएका थिए ।  

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा क्याप्टेन करण केसीले ४, दिपेश कँडेलले ३, गेरार्ड इरास्मसले २ र रसिद खानले १ विकेट लिए ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । ७ जना ब्याटर दोहोरो अंकको स्को रन गर्दै पवेलियन फर्केको काठमाडौंको इनिङ्समा डान डोउथ्वेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफन इस्किन्जाईले १३ रन बनाएका थिए ।  

लुम्बिनीका लागि साद बीन जफरले ३, अभिशेष गौतम र रेमन सिमोन्ड्सले समान २ विकेट लिए ।  

बुधबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले परातिज गर्यो । जारी एनपीएलमा यो जनकपुरको पहिलो हार हो । हारपछि जनकपुर ८ अंकमा दोस्रो स्थानमा झरेको छ । जितपछि समान अंक भएपनि रनरेटमा जनकपुरलाई पछि पार्दै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो पनि पढ्नुहोस्

एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित

प्रकाशित: २६ मंसिर २०८१ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App