भलिबल खेल्न भन्दै बाजुराबाट मुगु आएका एक युवा घर फर्किएको भनिएको चार दिनपछि भिरमुनि मृत अवस्थामा फेला परेका छन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-५ निवासी २६ वर्षीय रनसुर विक मुगुको खत्याड गाउँपालिका-८ स्थित बाघमारे भिरबाट करिब एक सय मिटर तल शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।
रैभान्य विकका छोरा रनसुर कात्तिक ८ गते भलिबल खेल्न भन्दै बाजुरास्थित घरबाट मुगुको खत्याड गाउँपालिका-८ रातापानी आएका थिए। आफन्तका अनुसार उनी कात्तिक ९ गते रातापानीबाट घर फर्किएका थिए। तर, घर फर्किएको भनिएका उनी चार दिनपछि नुवाखेत नजिकैको बाघमारे भिरको तल मृत भेटिएपछि घटनाले रहस्य सिर्जना गरेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाका अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा विक मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। मृतकका जेठान नाता पर्ने मनबहादुर लुहारले घटनाबारे इलाका प्रहरी कार्यालय रातापानीमा जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढाको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पश्चिममा पर्छ।
भलिबल खेल्न मुगु आएका विक घर फर्किने क्रममा कसरी बाघमारे भिरसम्म पुगे भन्ने खुलेको छैन। उनको मृत्यु भिरबाट लडेर भएको हो वा अन्य कुनै कारणले भन्नेबारे पनि प्रहरीले यकिन गरेको छैन।
घर फर्किएको भनिएको चार दिनपछि विकको शव भिरमुनि भेटिनुले घटनाको समयक्रम र परिस्थितिबारे थप अनुसन्धान आवश्यक देखिएको छ। प्रहरीले घटनास्थलको अनुसन्धान तथा अन्य विवरण संकलनपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित: १३ कार्तिक २०८३ २१:११ शुक्रबार





