नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजविरुद्ध १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले मात्र ७ रन जोड्दै पहिलो चार ओभरमै ६ विकेट गुमाएको छ।
चितवनका बलर सोहेल तनभिरले पहिलो ओभरमै घातक बलिङ गर्दै पोखराका तीन विकेट लिएका थिए। कुशल भुर्तेल पहिलो बलमै आउट भए। भुर्तेलले चिप गर्न खोजे पनि बल मिडविकेटमा रहेका रवि बोपाराको हातमा पुग्यो। त्यसपछि दिलीप नाथ (०.५ ओभर) लिडिङ एज हुँदै पोइन्टमा आउट भए भने बास डी लिड (०.६ ओभर) स्लीपमा कैद भए।
रिजन ढकालले बलिङमा झनै आक्रामक प्रदर्शन गर्दै ३.१ ओभरमा दिनेश खरेललाई आउट गरे। बाउन्सर बलमा पुल गर्ने प्रयास गरेका खरेल टप एज लागेर किपरद्वारा समातिए। त्यसै ओभरको ३.४ बलमा किरण ठगुन्ना एलबीडब्लुमा परे।
रिजनले ओभरको अन्तिम बलमा माइकल लिस्कलाई पनि आउट गर्दै एकै ओभरमा तीन विकेट लिए। लिस्कले डिफेन्स गर्ने प्रयास गरे पनि एज लागेर बल सिधै फिल्डरको हातमा पुगेको थियो।
चार ओभरको समाप्तिमा पोखराले ६ विकेट गुमाउँदै केवल ७ रन बनाएको छ। चितवन राइनोजको उत्कृष्ट बलिङ प्रदर्शनले पोखराको ब्याटिङ लाइनअपलाई पूर्णतः धराशायी बनाएको छ।
प्रकाशित: १८ मंसिर २०८१ १५:१२ मंगलबार