६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई तीन स्वर्णसहित सात पदक

नेपालले आइएसएफ जिम्नासाइड समर गेम्समा तीन स्वर्णसहित सात पदक जितेको छ। बहराइनको मानामामा भएको प्रतियोगितामा नेपालले पाँच खेलमा सहभागिता जनाएको थियो। तर, तीमध्ये नेपालले बक्सिङ र तेक्वान्दोमा मात्रै पदक जित्न सफल भएको हो। टेबल टेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाई थ्री बास्केटबल भने पदकविहीन हुन पुग्यो।  

नेपालले बक्सिङमा समान २/२ स्वर्ण र कांस्य हात पार्‍यो। यस्तै, तेक्वान्दोमा भने समान १÷१ स्वर्ण, रजत र कांस्य प्राप्त गर्न सफल भयो। बक्सिङको पुरुषतर्फ ८० केजीमुनिमा नोर्बु थेन्डुप लामाले स्वर्ण हात पारे। महिलातर्फ ५४ केजीमुनिमा स्वस्तिका तिरुवाले स्वर्ण जितिन्। दुवैको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो। बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कांस्य ल्याए।

तेक्वान्दोतर्फ उज्ज्वल वाग्लेले दोहोरो पदक जिते। नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमुनिमा स्वर्ण र पुरुष एकल पुम्सेमा रजत जिते। निविता केसीले महिला एकल पुम्सेमा कांस्य प्राप्त गरिन्। प्रत्येक दुई वर्षको अन्तरालमा हुने यु–१८ उमेरसमूहको आइएसएफ जिम्नासाइडको २०औं संस्करणमा नेपालबाट पाँच खेलमा ३२ खेलाडील सहभागी थिए। बहराइन जिम्नासाइडमा ६९ राष्ट्रका दुई हजार १७२ पुरुष र एक हजार ५४२ महिला गरी कुल तीन हजार ७१४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।  

अर्को संस्करण आयोजनाका लागि साउदी अरब, अजरबैजान र दुबईले प्रस्ताव गरेको आइएसएफका कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए। विद्यालय तहदेखि नै तेक्वान्दोलाई विकास गर्ने उद्देश्यसहित कार्कीको समन्वयमा विश्व तेक्वान्दो (डब्लुटी) सँग सम्झौता विगतमै भइसकेको नेपाल विद्यालय खेलकुद महासंघका सचिव सोविनराज रेग्मीले जानकारी गराए। कार्की आइएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका अध्यक्ष पनि हुन्। बहराइन जिम्नासाइडको तेक्वान्दोलाई डब्लुटीले जी वान ¥याङकिङ प्रतियोगिताको मान्यता दिएको कार्कीले बताए।

दूतावासको सम्मान  

बहराइनस्थित नेपाली दूतावासले आईएसएफ जिम्नासाइडमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार सम्मान गरेको छ। बहराइनका लागि नेपालका राजदूत तीर्थराज वाग्लेले खेलाडीसहितको टोलीलाई दूतावासमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्। 

प्रकाशित: १५ कार्तिक २०८१ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App