२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

खेल प्रशिक्षणमा अघि बढ्यो महानगर

 काठमाडौं महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ।

स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी गराउने गरी प्रशिक्षण हुन लागेको हो। यस प्रशिक्षण कार्यक्रमका लागि १२ हजार १२१ जना विद्यार्थीले आवेदनमार्फत इच्छा व्यक्त गरेको सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिए।

 उनका अनुसार कात्तिक मसान्तभित्र छनोट प्रक्रिया हुनेछ। छानिएका विद्यार्थीलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ। छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबीच हुने महानगरले उल्लेख गरेको छ। प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइनेछ।

यसअन्तर्गत मंसिर, पुस र माघ गरी करिब तीन महिना तालिम दिएर माघको अन्तिममा प्रतियोगिता आयोजना गर्ने महानगरको तयारी छ। जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी चार समूहमा तालिम सञ्चालन हुनेछ।

जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ। कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइईको तयारीमा प्रोत्साहन गरिनेछ। खेलका तालिम चलाउन नियमित कक्षाअगाडि, पछाडि, बिदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ। यसमा हार र जितभन्दा पनि खेलक्षेत्रको प्रवर्धनका मानकहरूलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ। यसका लागि राष्ट्रियस्तरका खेलकुदसँग सम्बन्धित संघका प्रमुख तथा प्रतिनिधिसँगको परामर्श बैठक सम्पन्न भएको छ।

बैठकमा सहभागी प्रतिनिधिले सिकाइ प्रक्रियामा खेललाई महानगरपालिकाले प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरे। ‘यो महत्त्वपूर्ण योजना हो। यसलाई निरन्तरता दिन तथा दिगो सञ्चालनका लागि महानगरले खेल प्रतिष्ठान बनाउनुपर्छ,’ सहभागी खेलक्षेत्रका प्रतिनिधिले महानगरपालिकाको योजनाका विषयमा जिज्ञासा राखेपछि पोखरेलले भने, ‘जगबाट खेल विकास गरेर राष्ट्रिय खेलमा योगदान गर्ने खेलाडी उत्पादनमा हाम्रो जोड छ। यसका लागि खेल र खेलाडीबाट प्राप्त पृष्ठपोषणका आधारमा कार्यक्रम तर्जुमा गर्दै लगिनेछ।’

प्रशिक्षणका लागि १७ विधाका खेल छानिएका छन्। प्रशिक्षण गरिने खेलहरूमा क्रिकेट, भलिबल, फुटबल, बक्सिङ, तेक्वान्दो, खोखो, एथलेटिक्स, बास्केटबल, टेबल टेनिस, कराते, पौडी, कबर्डी, ई–स्पोटर्स , जुडो, ब्याटमिन्टन, चेस र उसु हुन्।  

प्रकाशित: २४ आश्विन २०८१ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App