४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

‘मुभ अन’ लक्ष्यमा सुदूरपश्चिम

प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्। लाग्छ, केही नै भएको छैन। गोल खाँदा पनि टोलीलाई उल्टै आत्मसन्तुष्टि मिलेको छ। त्यो अचम्मको टोली हो, सुदूरपश्चिम प्रदेश। लिगको पाँचौं खेल सकिँदा सुदूरपश्चिम मात्रै यस्तो टोली हो, जसले जित मात्रै होइन बराबरीको नतिजा पनि निकाल्न सकेको छैन। सोमबारको पाँचौं खेलमा पनि यसअघि सामना भएका फराकिलो हारले निरन्तरता पायो। वालिङ नगरपालिकासँग पाँच मिनेटमा तीन गोल खाँदै टोली ५–१ पराजित भयो।

तर, मुख्य प्रशिक्षक दीपेश योञ्जन लामा यो नतिजाले खुसी नै देखिए। खुसी नै किन त ? उनी भन्छन्, ‘हाम्रो कस्तो टोली हो सबैलाई थाहा छ। यो टोलीले दिनहुँ सुधारिएको खेल प्रदर्शन गरिरहेको छ। त्यसैले यो नतिजाले खुसी नै बनाइरहेको छ।’ गत वैशाखमा सुर्खेतमा भएको महिला लिग छनोटसम्म यो टोलीको प्रदर्शन राम्रो नै थियो। सात प्रदेश सम्मेलित छनोटमा सुदूरपश्चिम एक हार र पाँच जित हात पार्दै उपविजेता बनेको थियो। त्यही नतिजाले सुदूरपश्चिमले काठमाडौंसम्म आइपुग्ने ढोका खोलेको हो। लिगअगाडि यो टोलीमाथि अपेक्षा ठूला थिए।

तर, संघ र खेलाडीबीच लामालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि विवाद हुँदा अपेक्षाअनुरूप हुन सकेन। त्यसैले छनोट खेलेका खेलाडीबिना नै सुदूरपश्चिम लिगमा कमजोर देखिएको हो। अंकतालिकाको पुछारमा रहेको सुदूरले ३७ गोल खाँदा तीन गोल मात्रै फर्काएको छ। दुई गोल तुलसा बोहरा र ऋतिका कार्कीले फर्काएकी हुन् भने एक त उपहारमै पाएको हो। सम्भवतः लिगमा सबैभन्दा धेरै गोल बेहोर्दै सुदूरपश्चिम फर्किनेछ। किनभने टोलीले अझै चार खेल खेल्न बाँकी छ। त्योमध्ये एक त विभागीय टोली एपिएफसँग नै छ। यस्तोमा अबको नतिजा के त ?

‘म नयाँ प्रशिक्षक हो। त्यसैले न मैले उनीहरूको खेल हेरेको थिएँ, न त उनीहरूको पोजिसन थाहा थियो। तीन गेम त यही बुझ्न लाग्यो। अहिले बल्ल सबैको पोजिसन बुझिरहेको छु। त्यसैले नतिजाभन्दा ‘मुभ अन’ हुन खोजिरहेको छु,’ उनले भने। अघिल्लो खेलमा चन्द्रपुर नगरपालिकासँग १४ मिनेटमै दुई गोल खाएको टोलीले सोमबार भने चार विदेशी खेलाडी उतारेको वालिङलाई १८ मिनेटसम्म बराबरीमा रोकेको थियो। लिगमा सुदूरपश्चिमले यति लामो समय विपक्षीलाई रोकेको पनि पहिलोपल्ट नै हो। तर, टोलीको बानी के छ भने एक गोल बेहोरेपछि छिटै ‘डाउन’ भइदिन्छ।

त्यही कारण उसले सोमबार पाँच मिनेटको अन्तरमा तीन गोल खाँदै फराकिलो हार बेहोर्न परेको हो। तर, दोस्रो हाफमा सन्तुलित खेल पस्किँदै एक गोल खाँदा एक फर्काएको पनि थियो। वालिङका मुख्य प्रशिक्षक दिलीप थापालाई भने सुदूरपश्चिमले दोस्रो हाफमा बलियो खेल पस्केला भन्ने आशै थिएन। त्यसैले उनी सकेसम्म पाँच गोलभन्दा बढी नै गर्ने रणनीतिसहित मैदान उत्रिएका थिए। शीर्ष पाँचमा रहने लक्ष्य बुनेको वालिङ दोस्रो स्थानमा रहेको पुलिसभन्दा दुई र तेस्रो तथा चौथो स्थानमा रहेका आर्मी र कोसीभन्दा एक अंकले पछि छ। तर, गोलअन्तरमा भने यी टोलीसँग धेरै अन्तरले पछि छ।

एपिएफसँगको खेलमा दुई विदेशी खेलाडी मिडफिल्डर सिसी एनटोङ्गो र भायोला नामुद्दुले पहेंलो कार्ड बेहोरेकी थिइन्। सोमबार लामो प्रहार गर्नसक्ने मिडफिल्डर अन्जली मचामसीले पनि पहेंलो कार्ड सामना गर्नुपर्‍यो। त्यसैले बागमतीविरुद्धको निर्णायक खेलका लागि सुरक्षित राख्न सुदूरपश्चिमविरुद्ध ह्याट्रिक गरेकी भायोलासँगै अञ्जलीलाई पनि दोस्रो हाफको सुरुमै मैदान बाहिर निकालिएको थियो। अब वालिङले बागमतीपछि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीसँगै चन्द्रपुरसँग खेल्न बाँकी छ। यी चारमध्ये दुई विभागीय टोलीसँग हुने खेलमा थापाको लक्ष्य सकेसम्म एक अंक खोस्नेछ। बाँकी दुई खेलमा भने वालिङ शतप्रतिशत जित्नै चाहन्छ। यति गरे वालिङलाई दोस्रो चरणमा पुग्न लगभग पर्याप्त हुनेछ।

प्रकाशित: १ आश्विन २०८१ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App